समाज

ओखलढुंगा र पालमा भएको दुर्घटनामा चार जनाको मृत्यु, ३१ जना घाइते

हिमालय टिभी
२०७६ असार २५ गते ७:५२
ओखलढुंगा र पालमा भएको दुर्घटनामा चार जनाको मृत्यु, ३१ जना घाइते

ओखलढुंगा । ओखलढुंगा र पाल्पामा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । घटनामा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको बस गएराति साढे ३ बजेतिर ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ डेढुवामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको ओखलढुंगा प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा बसका चालक झापाका कृष्णबहादुर बस्नेत, सोलुखुम्बु दुधकण्ड ५ की माया थापा र सिन्धुलीका लालबहादुर धामी रहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

यस्तै पाल्पाको रिब्दीकोट गाउँपालिका–३, देउराली नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु १४ जना घाइते भएका छन्।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–५ की ७० वर्षीया भूमादेवी बुढाथोकी हुनुहुन्छ । बुढाथोकीको युनाइटेड मिसन अस्पताल तान्सेनमा उपचारका क्रममा मृत्यु भएको हो।

घाइते १४ जनाको युनाइटेड मिसन अस्पताल तान्सेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बुटबलबाट तानसेन हुँदै सर्देवातर्फ गएको लु१ज ४१९४ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको प्रहरी चौकी हार्थोकका प्रहरी नायब निरीक्षक नोखबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्