समाज

चुरे विनाशसँगै बारामा पिउने पानीको चरम अभाव

हिमालय टिभी
२०७६ असार २२ गते ९:१०
चुरे विनाशसँगै बारामा पिउने पानीको चरम अभाव

बारा । पिउने पानीको स्रोतका रुपमा रहेका चापाकल सुकेपछि बारामा पिउने पानीको समस्या भएको छ । भूमिगत पानीको सतह तल तल पुगेकाले चापाकल सुक्न थालेका हुन् ।

बाराको सिम्रौनगढ नगरपालिका वडा नं ७ झवानीमा टोल र कलैया नगरपालिकाको वडा नं ८ खपरतातामा पिउने पानीका लागि गाडिएका चापाकलमा पानी आउन छाडेको छ । धारा सुकेपछि खपरताताका बासिन्दाले ओभरहेड ट्यांकीको माग गरेका छन् ।

भूमिगत पानीको अत्यधिक दोहन र पानी नपरेकै कारण खानेपानीको समस्या देखिएको वातावरणविद बताउँछन् । पानीको सतह घटेर एकदम तल गइरहेको छ । चुरेको उत्खनन तथा अत्यधिक दोहनले मध्यतराईको बारा, पर्सा र रौहतटमा भूमिगत पानीका स्रोत धमाधम सुक्न थालेपछि खानेपानीको अभाव छ । चुरेको दोहनले खानेपानीको मूल सुक्न थालेका छन् । यसले भविष्यमा पानीको भयानक समस्या हुने आंकलन गर्न थालिएको छ ।

चुरे क्षेत्रमा नदीजन्य पदार्थको ठेक्कामा प्रभावकारी अनुगमन नहुँदा जथाभावी दोहन भइरहेको छ । २० फिटमै राम्रो पानी आउने तराईमा अहिले २ सय ५० फिट गाड्दा पनि थोरै मात्र पानी आउँछ ।

भूमिगत पानीको सतहको पहिलो लेयर ६०–७० फिटमा पनि पानी आउँछ तर त्यसमा बढी आइरन हुने भएकाले त्यो पिउनयोग्य हुँदैन ।दोश्रो र तेश्रो तहको पानी पिउन योग्य हुन्छ तर अहिले त्यो पनि सुकेको छ ।

पानी रिजर्भ नभएका कारण सतह तल गएको विज्ञहरुको ठहर छ । पानी अभाव हुनुमा चुरे विनाश मुख्य कारण मानिन्छ । चुरे क्षेत्र जोगाउन नसके तराई मधेस मरुभूमिमा परिणत हुने खतरा बढेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्