राजनीति

प्रदेश सांसद दिपक मनाङ्गे उर्फ राजीव गुरुङ नेकपामा प्रवेश

हिमालय टिभी
२०७६ असार १९ गते ९:४६
प्रदेश सांसद दिपक मनाङ्गे उर्फ राजीव गुरुङ नेकपामा प्रवेश

कास्की । स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात दीपक मनाङेको प्रवेशसँगै गण्डकी प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुईतिहाई बहुमत पुगेको छ ।

६० सदस्यीय प्रदेशसभामा अब नेकपाको संख्या ४० पुगेको छ । तत्कालीन एमालेका २७ र माओवादीका १२ सदस्य गरी प्रदेशसभामा ३९ सदस्यीय बहुमतमा नेकपा थियो । गण्डकी प्रदेशमा कांग्रेस १५, जनमोर्चा २ र नयाँ शक्तिको २ सिट छ । जनमोर्चाका सांसद टेकबहादुर घर्तीको निधन भएपछि उपनिर्वाचन नहुँदासम्म एक सिट रिक्त छ ।

सत्तारुढ नेकपाले मुख्यमन्त्रीकै उपस्थितिमा कार्यक्रम गरेर प्रदेशसभा सदस्य राजीव गुरुङलाई पार्टी प्रवेश गराएको हो । राप्रपा र कांग्रेसबाट राजनीति गरेको र पछिल्लो समय कुनै पनि पार्टीमा नरहेको बताउँदै आएका राजीब गुरुङ आज नेकपामा प्रवेश गर्नुभयो । तर पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा गुरुङले सांसद भएपछि तेस्रोपटक नेकपामा प्रवेश गरेको स्वीकार्नुभयो । एक पटक मनाङका जिल्ला सभापति र लमजुङका नेताहरु, अर्को पटक काठमाडौं जिल्ला अध्यक्षबाट र अहिले गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट आफू पार्टी प्रवेश गरेको गुरुङको भनाइ छ ।

पार्टी प्रवेश गरिरहँदा गुरुङको प्रष्टिकरण आयो–‘दुई तिहाई बहुमत छ, खान पाइन्छ कि भनेर नेकपा प्रवेश गरेको होइन ।’ नेपाल कम्युनिस्ट पार्टी भन्ने नामले नै आफूलाई आकर्षित गरेको गुरुङको दाबी छ ।

मनाङ प्रदेश सभा ‘ख’ तत्कालीन एमालेको भागमा परेको थियो । अन्तिममा आएर उम्मेदवारी फिर्ता लिँदै राजीवलाई नै एमालेले समर्थन गरेपछि उहाँ स्वतन्त्र सांसदको रुपमा निर्वाचित हुनुभयो । तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण गुरुङले सपथ लिन पाउनु भएको थिएनन ।

८ महिना जेल बसेका गुरुङले पछिल्लो मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा दिएको छ । त्यही सुविधा प्रयोग गर्दै राजीव थुनामुक्त भएपछि गत मंसिर १२ गते बिहीबार प्रदेश सभा सचिवालयमा सपथका लागि निवेदन दिनुभएको थियो । त्यसको एक महिनापछि सभामुख नेत्रनाथ अधिकारीले गुरुङलाई सपथ गराउनुभयो ।

२०६० साल पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोगमा पक्राउ परेका गुरुङ दोस्रो पटक २०६५ साल फागुन र तेस्रो पटक २०७० साल फागुनमा पक्राउ पर्नु भएको थियो। गुण्डा नाइके भनेर चिनिएका गुरुङ २०७३ पुस २८ गते राप्रपा प्रवेश गर्नुभयो । त्यसको एक वर्ष पनि नबित्दै २०७४ असोजमा एकाएक तत्कालिन एमालेमा पुग्नुभयो।

तर एमालेबाट टिकट नपाएपछि स्वतन्त्र हैसियतमा माननीय बन्नु भएका गुरुङ २०७६ मा आउँदा नेकपाका सांसद हुनुभयो । त्यत्ति मात्रै हैन उहाँ प्रदेशसभामा नेकपाको दुई तिहाइको सारथीसमेत बन्नु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्