चीन भ्रमणले ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको प्रधानमन्त्रीको टिप्पणी

१३ असोज २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको टिप्पणी गर्नुभएको छ ।
साता लामो चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलले आपसी विश्वासलाई थप उचाइ दिएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको बताउनु भयो ।
उहाँले दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भइ अघि बढाउने सहमति भएको पनि बताउनु भयो । नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण शुरु गर्ने सहमति भएको बताउनु भयो ।
उहाँले स्याँप्रुबेसी रसुवागढी रसडक मर्मतका लागि चिनियाँ पक्ष तयार भएको र हिल्सा सिमिकोट सडकको अध्ययन सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमत भएको बताउनु भयो ।
उहाँले चीनसँग टोखा—छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तिब्र गतिका साथ अघि बढाउने, काठमाडौं चक्रपथ सडकको दोस्रो चरणको कार्यान्वयनलाई तिब्रता दिने सहमति भएको पनि बताउनु भयो । उहाँले नेपाल—चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिटै गर्नेमा सहमति लगायत १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको बताउनु भयो ।
संयुक्त राष्ट्रससंघको ७८ औं महासभामा सहभागी हुन भदौ ३० गते अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड असोज ६ गते त्यतैबाट चीनको औपचारिक भ्रमणमा जानुभएको थियो ।
प्रतिक्रिया