राजनीति

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी

हिमालय टिभी
२०८० जेठ २३ गते १३:४९
कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी

२३ जेठ २०८० मोरङ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश पदाधिकारीको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले आफ्ना मन्त्रीलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले जानकारी दिनुभयो । प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री हुनुहुन्छ ।

प्रदेश सभामा एउटा सिट रहेको जसपा भने सरकारबाट बाहिरिसकेको छ । ९३ सदस्यीय प्रदेशसभामा कार्की नेतृत्वको सरकारलाई एमालेका ४०, माओवादीका १३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जनाको समर्थन छ ।

विपक्षमा कांग्रेसका २९, एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन् । माओवादीले सरकार छोड्ने निर्णय लियो भने मुख्यमन्त्री कार्कीको बहुमत गुम्नेछ । एमाले र राप्रपाको सिट संख्याले मात्रै प्रदेशसभाको बहुमत नपुग्ने भएकाले उहाँले विश्वासको मत लिनुपर्ने अवस्था आउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्