खेलकूद

नेपालको साफ च्याम्पियनसिप तयारी अन्योलमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ १९ गते २०:३२
नेपालको साफ च्याम्पियनसिप तयारी अन्योलमा (भिडियो रिपोर्टसहित)

१९ जेठ २०८० काठमाडौं । अर्को महिना भारतमा हुने १४ औं साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टोलीको प्रशिक्षण थालेको २ दिनपछिनै स्थगित गरेको छ ।

पूर्व निर्धारित तालिकाअनुसार हिजोदेखि प्रशिक्षण गर्ने भनिए पनि ए डिभिजन लिगमा सहभागी क्लबहरुको लिग नसकिँदै खेलाडी रिलिज गर्न नसकिने अडान लिएपछि एन्फा निर्णयबाट पछि हटेको छ । प्रतियोगिता सुरु हुन २ सातामात्र बाँकी रहेको अवस्थामा समेत नेपालले तयारी गर्न नसक्दा च्याम्पियनसिपमा नेपालको प्रदर्शन कस्तो होला ?

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एन्सेले पहिलो चरणमा ३० जना खेलाडी छनोट गरि बिहिबारदेखि राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने तयारी गरेका थिए । तर पहिलो दिन बोलाईएका खेलाडीहरु प्रशिक्षणमा आएनन् । आफू आबद्ध क्लबले रोकेपछि खेलाडीहरु राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी भएनन् ।

बिहीबार नै ए डिभिजन लिगमा सहभागी ३ विभागीय र जावलाखेल युथ क्लब बाहेक १० क्लबको बैठकले लिग नसकिएसम्म खेलाडी रिलिज नगर्ने निर्णय गर्यो । उनीहरुले लिगको तयारी खर्चको दोस्रो किस्ता, म्याच मनी, म्यान अफ द म्याच लगायत रकम उपलब्ध नगराए अबका खेलमा विरोध स्वरुप कालो पट्टि बाँधेर खेल्ने समेत बताए ।

क्लबहरुको यो निर्णयबाट हच्किएको एन्फाले लगतै विज्ञप्ती जारी गर्दै शुक्रबारका लागि तोकिएको प्रशिक्षण पूर्वनिर्धारित समयमा हुने र त्यसपछि भने स्थगित गर्ने बतायो । लिगकै समयमा राष्ट्रिय टोलीको प्रशिक्षणका लागि बोलाउँदा क्लबहरुले आफ्ना मुख्य खेलाडी गुमाउनु पर्ने अवस्था छ।

लिगको उत्तरार्धमा उपाधि होड र रेलिगेशन जोनबाट बच्ने चिन्तामा रहेका क्लबहरु कुनैपनि हालतमा आफ्ना खेलाडी गुमाउन चाहँदैनन् । यस्तोमा एन्फाले खेलाडी फुकुवा गर्न निर्देशन दिएपछि क्लबहरु असन्तुष्ट बनेका हुन् । एन्फाले विना छलफल एकतर्फी ढंगले निर्णय लिएको क्लबहरुको आरोप छ ।

साफकै तयारीका लागि लिग केही समय सार्ने सुविधा पनि एन्फा सामु छ । तर एन्फा चलिरहेको लिग जसोतसो सक्काउनमै केन्द्रित छ । प्रतियोगिताका विषयमा अग्रिम जानकारी भए पनि एन्फाले त्यसतर्फ कदम चाल्न सकेको देखिएन । लिग अघिनै साफ च्याम्पियनसिपका लागि खेलाडी रिलिज गर्नुपर्ने सम्झौता गर्न सकिने बाटो हुँदा पनि एन्फा त्यसमा चुकेको छ ।

यता क्लबहरु पनि राष्ट्रिय हितभन्दा पनि आफ्नो व्यवसायिक उद्देश्य पुरा नहुने चिन्तामा देखिन्छन् । क्लबको निर्णयपछि एन्फाले प्रशिक्षण त रोक्यो । तर यसले साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शनमा भने धेरै असर पर्नेवाला छ ।

किनकी यस पटक साफका सदस्यहरु श्रीलंका बाहेक ६ राष्ट्र र आमन्त्रित टोलीका रुपमा कुवेत र लेवनान पनि च्याम्पियनसिपमा खेल्दैछन् । नेपाल रहेको समुहमा घरेलु टोली भारत, कुवेत र पाकिस्तान छन् । प्रतियोगिताको कठिन समुह मानिएको यो टोलीबाट सेमिफाइनलमा स्थान बनाउन नेपाललाई कम्तिमा २ खेल जित्नु पर्ने हुन्छ । तर अन्य टोलीहरु लामो समयदेखी बन्द प्रशिक्षणमा रहँदा नेपाल भने लिग समापनको दिन गनेर बस्न बाध्य छ ।

च्याम्पियनसिपको तयारीका लागि जेठ ३२ गते फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने तालिका समेत छ । जसका लागि नेपाली टोली जेठ ३० गते त्यसतर्फ जाने तालिका छ । यस्तोमा जेठ २७ गते लिग सक्काएर १-२ दिनको तयारीपछिनै नेपाल फिलिपिन्स जानु पर्ने हुन्छ । लामो समय पर्याप्त विश्राम विनाको लिग खेलेर थकित खेलाडीलाई राष्ट्रिय टोलीको कडा प्रशिक्षणले घाइते हुने जोखिम पनि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्