राजनीति

कोशी प्रदेशः हिक्मत कार्की नेतृत्वको सरकार संकटमा (भिडियो रिपोर्टसहित)

२०८० जेठ १९ गते १४:२३
कोशी प्रदेशः हिक्मत कार्की नेतृत्वको सरकार संकटमा (भिडियो रिपोर्टसहित)

१९ जेठ २०८० मोरङ । कोशी प्रदेश सरकार बजेटको तयारीमा रहँदा पहिचानको पक्षमा उभिएको जनता समाजवादी पार्टीले सरकार छाड्ने निर्णय लिएपछि एमाले नेतृत्वको सरकार संकटमा परेको छ ।

जसपाले समर्थन फिर्ता लिएसँगै बजेट निर्माणको तयारीमा जुटिरहेको कोशी सरकारलाई अहिले माओवादीकै भर छ । पार्टी नेतृत्वको निर्देशन पर्खिएको माओवादी केन्द्रले सरकार छाडे मुख्यमन्त्री हिक्मत कार्कीलाई बहुमत जुटाउन कठिन हुन्छ ।

संघमा राजनीतिक गठबन्धन बदलिएसँगै सबै प्रदेशमा सरकार फेरियो । तर, कोशीमा हिक्मतकुमार कार्की यथावत हुनुहुन्छ। यही साता एक जना प्रदेशसभा सदस्य रहेको जसपाले समर्थत फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अब के हुन्छ भन्ने अन्योलमा छ ।

जनता समाजवादी पार्टीले सरकार छाड्ने निर्णय लिएपछि अर्को पहिचान पक्षधर दल माओवादी केन्द्र पनि नैतिक संकटमा परेको छ । त्यसबाहेक पनि संघमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले एमालेलाई समर्थन गरिरहला भन्न सकिदैन ।

पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने पक्षमा सुरुदेखि नै ‘दृढतापूर्वक’ उभिँदै आएको जसपा कोशी प्रदेशमा भने उसैको शब्दमा ‘पहिचानविरोधी’ एमाले नेतृत्वको सरकारमा सहभागी थियो ।एकातिर केन्द्रीय गठबन्धनमा आएको बदलाव अनि अर्कातिर पहिचान पक्षधरहरुले उठाएको आन्दोलनको दबाबले जसपा सरकारबाट बाहिरिएको हो ।

केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहितको गठबन्धन रहे पनि कोशीमा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको सरकार छ । कांग्रेसको दबाबका बाबजुत माओवादी सरकारमै छ । जसपाको कदमपछि माओवादीलाई पनि समर्थन फिर्ता लिन दबाब परेको छ ।

मुख्यमन्त्री कार्की भने कम्तिमा बजेट ल्याउने बेलासम्म आफू नेतृत्वको सरकार टिकाइराख्ने दाउमा हुनुहुन्छ ।

माओवादीले पनि सरकार छाडेको अवस्थामा हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । ९३ सदस्यीय कोशी प्रदेशमा सरकार बनाउन कम्तिमा ४७ सांसदको समर्थन चाहिन्छ ।

४० सिटको एमाले र ६ सिटको राप्रपा एक ठाउँमा रहेका कारण चार दलीय गठबन्धनलाई नयाँ सरकार बनाउन राप्रपाको समर्थन अनिवार्य छ । महत्वपूर्ण घटक बनेको राप्रपाले भने मुख्यमन्त्री दाबी गरिरहेको छ । यदी राप्रपालाई मनाउन नसकेमा कोशी प्रदेश मध्यावधी निर्वाचनमा जाने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्