खेलकूद

ए डिभिजन लिग : उपाधि होड रोचक मोडमा (भिडियो रिपोर्टसहित)

२०८० जेठ १६ गते २१:०७
ए डिभिजन लिग : उपाधि होड रोचक मोडमा (भिडियो रिपोर्टसहित)

१६ जेठ २०८० काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको २३ औं चरणका खेलहरु सुरु भएसँगै उपाधि होड रोचक मोडमा पुगेको छ ।

आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएसँगै जावलाखेल युथ क्लब दोस्रो स्थानमा उक्लियो । जावलाखेलसँगै शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड र साबिक विजेता मछिन्द्र क्लब उपाधि दौडमा अगाडि रहँदा साबिक उपविजेता आर्मीको सम्भावना भने लगभग सकिएको छ ।

सहिद स्मारक ए डिभिजन लिग उत्तरार्धमा आइपुग्दा रेलिगेशनबाट बच्न क्लबहरुबीच तीव्र प्रतिस्पर्धा चलिरहँदा उपाधि होडमा पनि ३ क्लबबीच राम्रै होडबाजी जारी छ । साबिक विजेता तथा २ पटकको विजेता मछिन्द्र क्लब, नव प्रवेशी चर्च ब्वाईज युनाईटेड र जावलाखेल युथ क्लब उपाधि दौडमा अगाडि छन् ।

मंगलबार सुरु भएको २३ औं चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २(० गोलले हराउँदै जावलाखेल अंक तालिकाको दोस्रो स्थानमा उक्लियो । जावलाखेलको २३ खेलबाट ३७ अंक छ भने शीर्ष स्थानको चर्च ब्वाइजको १ अंक बढी छ ।

अब एपिएफसँगको खेलमा जित हासिल गरे चर्चले अग्रता बढाउने छ तर बराबरी वा हारको नतिजाले पनि उ कम्तिमा यो चरणको लिग लिडरनै हुने पक्का छ । लामो समयसम्म शीर्षस्थान ओगटेको जावलाखेललाई उपाधि दौडको बलियो अवस्थामा पुर्याउन दुवै गोल एनकोटो मासोबीले गरे । क्लब अब अरु टोलीको नतिजामा निर्भर हुनु भन्दा आफ्ना बाँकी ३ खेलमा केन्द्रित छ ।

जावलाखेलसँगको हारले विभागीय टोली आर्मी उपाधि होडबाट बाहिरिने पक्का जस्तै छ । शीर्ष स्थानको टोली भन्दा ८ अंकले पछि रहेको आर्मीलाई अब उपाधि होडमा फर्किन आफ्ना ३ वटै खेल जितेर मात्र पुग्दैन आफु भन्दा माथिका ४ क्लबको नतिजामा पनि निर्भर हुनु पर्नेछ ।

२०२९ सालमा स्थापना भएको यो क्लबले २८ वर्षपछि मात्र शीर्ष डिभिजन खेल्न थालेको हो । यसपछिका लगातार सबै सिजनको लिग खेले पनि क्लबले सम्झनलायक सफलता भने पाउन सकेको छैन् ।

ए डिभिजन लिगमा १३ औं पटक सहभागी भएको जावलाखेल अहिलेसम्म लिगमा एक पटक दोस्रो भएको रेकर्ड छ । २०३९ सालमा जावलाखेल दोस्रो भएको थियो । त्यस समय क्लबलाई अहिलेसम्मकै उच्च सफलता दिलाएको टोलीमा सुनील श्रेष्ठ महत्वपूर्ण सदस्य थिए । उनै सुनील अहिले प्रशिक्षकको रुपमा टोलीलाई उपाधि दिलाउने लक्ष्यमा छन् ।

शीर्ष ३ टोली बाहेक बाँकी ११ टोली मध्ये जुनसुकै टोलीको पनि रेलिगशेन पर्ने सम्भावना कायमै छ । यस्तोमा रेलिगशेन जोनको भिडन्तले पनि लिगमा अबका खेलले रोमाञ्चकता भर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्