राजनीति

‘जनयुद्ध’मा दन्तबझान, एमाले नमान्ने, माओवादी नसुन्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ ९ गते २१:२३
‘जनयुद्ध’मा दन्तबझान, एमाले नमान्ने, माओवादी नसुन्ने (भिडियो रिपोर्टसहित)

९ जेठ २०८० काठमाडौं । फागुन १ गते माओवादीले युद्ध सुरु गरेको दिनलाई उसले जनयुद्ध भन्दै आएको छ । तर, विस्तृत शान्ति सम्झौता र संविधानमा माओवादीको सशस्त्र द्वन्द्व उल्लेख छ ।

अहिले यही जनयुद्ध शब्दलाई लिएर सांसदहरुबीच संसदमा दन्तबझान देखिएको छ । यो क्रम अहिलेमात्र होइन, एमाले–माओवादी सहकार्य हुँदा कांग्रेसले विरोध गर्ने, कांग्रेस–माओवादी सहकार्य हुँदा एमालेले विरोध गर्ने गरेका छन् ।

२०५२ साल फागुन १ गते माओवादीले सशस्त्र संघर्ष सुरु गर्यो । एक दशकसम्म चलेको सो संघर्षलाई माओवादीले जनयुद्ध भन्यो त्यसबेलाको सरकारले माओवादीलाई आतंकवादीको सूचीमा राखेको थियो । माओवादी १२ बुँदे सम्झौता हुँदै शान्ति प्रक्रियामा आउँदा माओवादीले गरेको हतियारवन्द संघर्षलाई सशस्त्र द्वन्द्वका रुपमा उल्लेखित छ ।

यद्यपि त्यतिबेलै माओवादीले सम्झौताहरुमा जनयुद्ध लेखाउन गरेको प्रयास विफल भएको थियो । त्यस्तै संविधान लेखनकै क्रममा पनि माओवादीले जनयुद्ध शब्द राख्न ठूलै प्रयास गरेपनि असफल भयो ।तर, माओवादीले आफूले लडेको युद्धलाई जनयुद्धकै रुपमा दस्तावेजीकरण गर्ने प्रयास भने छाडेको छैन । गत फागुन १ गते जनयुद्ध दिवस भन्दै सार्वजनिक विदा दिएपछि आलोचना खेपेका प्रचण्ड नेतृत्वको अहिलेको सरकारले नीति तथा कार्यक्रममै जनयुद्ध शब्द राखेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विरोधमा उत्रिएको छ ।

तर २०६५र०६६ सालमा सरकारले ल्याएको नीति तथा कार्यक्रममा जनयुद्ध शब्द उल्लेख थियो । त्यसबेला एमाले–माओवादीको संयुक्त सरकार थियो । त्यससमयमा कांग्रेसले विरोध जनाएको थियो । त्यसपछि एमालेकै सहभागितामा बनेको प्रचण्ड सरकारले फागुन १ लाई जनयुद्ध दिवस घोषणा गर्दा पनि एमालेको विरोध थिएन । तर, अहिले एमालेले नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखिएकोमा आपत्ति जनाएको छ ।

संसदमा जब एमालेका सांसदले जनयुद्ध भनिएकोमा आपत्ति गर्छन् माओवादी केन्द्रका सांसद प्रतिवाद गरिहाल्छन् । उनीहरु आफूहरुले लडेको युद्धकै कारण गणतन्त्र आएपनि अपहेलित हुनुपरेको बेला बेला पीडा पोखिरहन्छन् । जनयुद्ध भनाउन पाए आफुले लडेको युद्धको सम्मान हुने मनोविज्ञान माओवादी नेतृत्वमा देखिन्छ । अहिले नीति तथा कार्यक्रममा माओवादीले जनयुद्ध शब्द समावेश गरेपछि दन्तवझान जारी छ ।

उसो त एमालेसँग पार्टी एकता पछि नेकपा बन्दा पनि राजनीतिक दस्तावेजमा जनयुद्ध लेखिएको माओवादी बताउँछ । फागुन १ लाई जनयुद्ध दिवसकै रुपमा मनाउँदा अहिले एमालेका नेता नै त्यस्ता कार्यक्रममा सहभागी भएका पनि थिए ।

त्यतिबेला जनयुद्ध भन्दा विरोध गरेको कांग्रेससँग माओवादी अहिले सत्तासाझेदार छ । यही मौका छोपेर माओवादीले नीति तथा कार्यक्रममा जनयुद्ध शब्द समावेश गरेपनि कांग्रेस भने मौन छ । सत्ता र पार्टीमा एकै ठाउँमा रहँदा जनयुद्ध शब्दप्रति नरम हुने कांग्रेस र एमालेको मौनता र शान्ति सम्झौता र संविधानले नचिन्ने जनयुद्ध शब्द लेखाउन माओवादीको मरिहत्ते ? हेर्नलायक बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्