राजनीति

उपनिर्वाचन नयाँमा भरोसा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख ११ गते २१:१७
उपनिर्वाचन नयाँमा भरोसा (भिडियो रिपोर्टसहित)

११ वैशाख २०८० काठमाडौं । २०४८ देखि गत मंसिर ४ मा भएका आम निर्वाचनमा एक पटक बाहेक कांग्रेसकै हालीमुहाली भएको क्षेत्र हो, तनहुँ–१ । तर यो निर्वाचन क्षेत्र अब कांग्रेस वा कांग्रेसलाई पछ्याइरहेको एमालेको गढ रहेन ।

बरु मतदाताले पुराना दललाई बिदा गरेर नयाँलाई जिम्मेवारी सुम्पिने सुरसार गरिसके । चितवन–२ र बारा–२ को प्रारम्भिक मत परिणामले पनि अब पुरानाप्रतिको वितृष्णा चरम रुपमा बढिसक्यो भन्ने नै देखाएको छ ।

मंसिर ४ को निर्वाचनमा तनहुँ १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल २५ हजार ३१३ मतसहित विजयी हुनु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानालाई १६ हजार ९ सय २५ मत प्राप्त भएको थियो ।

यो तथ्यांकले तनहुँमा मतदाता तत्कालै पुराना दलको विकल्प खोज्न चाँहदैनन् भन्न सकिने अवस्था थियो । तर ५ महिनाकै अन्तरालमा भएको उपनिर्वाचनमा कांग्रेस एमालेलगायतका पुराना दलले पाएको मत आश्चचर्यजनक रुपमा बदलिएको छ ।

यतिसम्मकी सोही क्षेत्रबाट निर्वाचित पौडेल राष्ट्रपति निर्वाचित हुँदा स्वतः यसको प्रभावले यस क्षेत्रमा कांग्रेसकै उम्मेदवार निर्वाचित हुनुपर्ने सजिलो अनुमान हो । तर मतदातामा पुराना पार्टीप्रतिको विश्वास यतिसम्म क्षिण बन्योकी हातमै आएको सत्तालेसमेत प्रभाव छोड्न सकेन ।

उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई प्राप्त भइरहेको मतको रुझानले यस क्षेत्रका मतदाता एउटा राम्रो विकल्प पाउनासाथ कांग्रेस–एमालेलाई बिदा गर्न तम्तयार थिए भन्न अतिशयोक्ति हुनेछैन ।
सत्ता गठबन्धनका शीर्ष नेताको तनहुँ केन्द्रीत लावा लस्करले कुनै परिणाम नदेखाउँदा पार्टी सभापति शेरबहादुर देउवा नै आश्चर्यमा पर्नुभयो रे ।

०७४ मा एमालेका किसान श्रेष्ठले जितेको बाहेक तनहुँको यो क्षेत्रमा २०४८ यता कांग्रेसकै हाली मुहाली थियो । यो हालीमुहाली तोड्न एमालेले राम्रै कसरत गरिरहेको हरेक निर्वाचनको मतपरिणामबाट झल्किन्छ । तनहुँ–१ मा मात्रै हैन प्रारम्भिक रुझान अनुसार बारा–२ र चितवन–२ मा पनि नयाँ ट्रेण्ड देखिएको छ ।

गत मंसिरको निर्वाचनमा बारा(२ मा जित निकालेको जसपालाई सत्ता गठबन्धनको ७ दलको साथ रहे पनि जनमत पार्टीका उम्मेदवारलाई आशातित मत प्राप्त भइरहेको छ । जसपाका रामसहायप्रसाद यादवसँग झिनो मतले पराजित शिवचन्द्र कुशवाह जनमतबाट उम्मेदवार बन्दा यो क्षेत्रमा जसपाको परम्परागत मत बाँडिएको देखिन्छ ।

अझ जसरी पनि जित्ने रणनीतिसहित चुनावमा होमिएका जसपा अध्यक्ष उपेन्द्र यादवको कानमा जनमतको हर्न यसरी बजिरहेको छ की अब मधेसमा मतका लागि शाम, दाम, दण्ड र भेदको राजनीति समाप्त भएको छ र जनताले समृद्धिको आशासहित विकल्प खोजेका छन् ।

चितवन–२ मा रास्वपाका रवि लामिछानेलाइ मंसिरको भन्दा बढी मत दिएर जिताउने देखिएको छ । उपनिर्वाचनमा देखिएको मतको ट्रेन्डले प्रत्येक क्षेत्रका मतदातामा अब विकल्प चाहिरहेका छन् भन्न हिच्किचाउनु पर्ने अवस्था छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्