विश्वासको मत नपाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त

९ वैशाख २०८० कास्की । विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी स्वतः पदमुक्त हुनुभएको छ ।
मुख्यमन्त्री अधिकारीले आज प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा भन्दा विपक्षमा बढी मत परेसँगै अधिकारी पदमुक्त हुनुभएको हो ।
प्रदेशसभामा अधिकारीले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा पक्षमा २४ जना मात्र रहे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत पाउनुभयो।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा अधिकारी मुख्यमन्त्री बन्नुभएको थियो । सत्ता सारथि नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता उत्पन्न भएको थियो ।
प्रतिक्रिया