आयुर्वेदिक पद्धतिबाट उपचार शुरु (भिडियो रिपोर्टसहित)
२५ चैत २०७९ कैलाली । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयुर्वेदिक पद्धतिबाट उपचार शुरू भएको छ ।
सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय विधिवत रुपमा सञ्चालन भएपछि अब प्रदेशमै आयुर्वेद प्रशोधन केन्द्र पनि सञ्चालनमा ल्याउन नागरिकले माग गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा संघीय सरकारले १६ करोड बढीको लागतमा ५० शय्याको प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनमा ल्याएसँगै अब आयुर्वेदिक उपचारका लागी अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।
प्रदेश आयुर्वेदिक चिकित्सालय शुरु भएसंगै अहिले दैनिक १ सय ५० भन्दा बढी बिरामीले सेवा लिइरहेका छन् । आयुर्वेदिक चिकित्सालय सञ्चालन भएसंगै सहज किसिमको उपचार सेवा पाउने स्थानीयको अपेक्षा छ ।
आयुर्वेद चिकित्सालयमा बिरामीलाई निःशुल्क उपचार र औषधि वितरण गर्ने गरिएको छ । प्रदेश सरकारबाट ५० शैयाको स्वीकृति पाएको प्रादेशिक आयुर्वेद चिकित्सालयमा नयाँ वर्षबाट अन्तरङ्ग सेवा सुरू हुँदैछ ।
चिकित्सालयले अहिले बहिरङ्ग सेवा, प्रयोगशाला र पञ्चकर्म–पूर्वकर्म, होमियोपेथी उपचार सेवा दिइरहेको छ । साथै बाथ रोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षघात र छाला सम्बन्धि समस्या भएका बिरामीको उपचार हुने गरेको छ ।
पञ्चकर्म–पूर्वकर्म विधिबाट समेत उपचार सुरू भएपछि बिरामीको रोजाइमा आयुर्वेद पद्धति पर्ने विश्वास लिइएको छ । अब यसै क्षेत्रमा आयुर्वेद प्रशोधन केन्द्रको समेत स्थापना गरी स्वास्थ्यसँगै आर्थिक विकासमा पनि लाग्नुपर्नेमा आम नागरिकको जोड छ ।
धनगढी उपमहानगरपालिका– १३ राजपुरमा रहेको आयुर्वेद चिकित्सालयले असोज ११ गते नयाँ भवनबाट सेवा सुरू गरेको थियो । गत कात्तिक २६ गतेबाट भने पहिलो पटक पञ्चकर्म–पूर्वकर्म विधिबाट उपचार सेवा सुरू गरिएको थियो ।
प्रतिक्रिया