सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप

२०७९ चैत २१ गते १४:३५
सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप

२१ चैत २०७९ बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् ।

प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या कूल २२ लाख ३३ हजार आठ सय ३१ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पूर्ण मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका सात लाख ३२ हजार सात सय ८९ जना छन् ।

सबैभन्दा कम दार्चुलामा एक लाख १४ हजार ६ सय २८ ले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।

यस्तै कञ्चनपुरमा चार लाख ३९ हजार एक सय ६८, बैतडीमा दुई लाख ११ हजार छ सय ५२, अछाममा एक लाख ८३ हजार छ सय दुई, डोटीमा एक लाख ६१ हजार एक सय ३८, बझाङमा एक लाख ३७ हजार छ सय ११, डडेल्धुरामा एक लाख २७ हजार सात सय २५ र बाजुरामा एक लाख २५ हजार चार सय ६८ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् ।

प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने दश लाख १५ हजार ३७ रहेको छ । प्रदेशमा कोरोना भाइरसविरुद्धको चौथो तथा बुस्टर डोजको दोस्रो मात्रा लगाउनेको सङ्ख्या भने २९ हजार आठ सय ५६ रहेको निर्देशनालयले जनाएको छ ।

बैतडीमा भने एकजनाले पनि कोरोना भाइरसविरुद्धको चौथो तथा बुस्टर डोजको दोस्रो मात्रा नलगाएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिनुभयो । जिल्लामा केही दिनमै चौथो मात्रा दिइने अभियान सञ्चालन गरिने लेखकको भनाइ छ ।

सुदूरपश्चिममा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोन्सन एन्ड जोन्सन, फाइजर, मोडर्ना खोप लगाइएको हो । प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने अभियन जारी रहेकाले खोप लगाउन बाँकी सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

सुदूरपश्चिममा विसं २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको अभियान सुरु गरिएको थियो । प्रदेशसमा हालसम्म ६ लाख ४६ हजार सात सय तीनजनाको कोरोना परीक्षण गरिएको छ जसमध्ये ६१ हजार नौ सय ५५ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।

भारतसँग सीमा जोडिएको यस प्रदेशमा दैनिक कोरोना सङ्क्रमण बढ्दै छ । सङ्क्रमण देखिने अधिकांश भारतबाट फर्किएका यहाँ जोखिम बढ्दै गएको छ । प्रदेशका सबै सीमानाकाहरुमा हेल्थ डेस्क स्थापना गरिएको र अनिवार्य कोरोना परीक्षण गराएर मात्रै भित्रिन दिइएको छ । सङ्क्रमणको जोखिम बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *