राजनीति

कर्णालीमा एमालेको ढोक्सा : माछाको आश, भ्यागुताको त्रास ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत १८ गते २१:०२
कर्णालीमा एमालेको ढोक्सा : माछाको आश, भ्यागुताको त्रास ! (भिडियो रिपोर्टसहित)

१८ चैत २०७९ सुर्खेत । केन्द्रको गठबन्धन परिवर्तन हुँदा पनि नेकपा एमालेले कर्णाली प्रदेश सरकारको तत्कालीन गठबन्धनलाई कायम राखेको छ ।

शुक्रबार मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएर एमालेले सरकारमै बस्ने निर्णय गरेको छ । अन्य प्रदेशमा समेत गठबन्धन परिवर्तन भइसक्दा एमालेले कर्णालीमा किन पुरानै गठबन्धनलाई विश्वास दिइरहेको छ त ?

राष्ट्रपति निर्वाचनका लागि कांग्रेससहित ८ दलको गठबन्धन बनेसँगै एमालेलाई थाहा थियो अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग रहने छैनन् ।तर आफूहरु पुस १० को सहमतिमा कायम रहेको भन्दै अझै एक–एक दुई दिन मन्त्री खाइरहने एमालेको चाहनामा प्रचण्डले तुषरापात गरिदिनुभयो ।

फागुन १५ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ताकै अघिल्लो दिन तत्कालीन परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकिदिएपछि एमालेले बाध्य भएर केन्द्र सरकार छोड्नुपर्यो । साथै एमालेले समर्थन पनि फिर्ता लियो ।

प्रधानमन्त्रीले अर्कै गठबन्धन बनाइसकेपछि बाटो खाली गरिदिनुपर्नेमा एक–दुई दिनमात्रै बढी सरकारमा रहेको एमाले अपमानित भएर सरकारबाट बाहिरिँदा प्रचण्ड इमान्दार नभएको आरोप लगायो । जबकी नयाँ गठबन्धन बन्नासाथै राप्रपाका मन्त्रीहरुले १३ गते नै राजीनामा बुझाएका थिए र समर्थन फिर्ता लिएका थिए ।

शुक्रबार कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत दिँदा एमालेले विश्वासको मत मात्रै दिएको छैन सरकारमा रहेका मन्त्रीहरु पनि यथावत् राखेको छ । केन्द्रको गठबन्धन भत्किसक्दा कर्णालीमा एमालेको सरकार यात्रा क्षणिक हुने निश्चित छ । तर नयाँ गठबन्धनलाई सरकारमा समेट्ने मुख्यमन्त्री शर्माको चाहनामा अवरोध पुग्ने गरी एमालेले सरकार छोडेको छैन । एमालेको तर्क छ, ठिकठाक हुँदासम्म किन सरकार छोड्ने ?

यो प्रदेशमा तीन मन्त्रालयको नेतृत्व गरिरहेको तत्कालीन गठबन्धनको प्रमुख सत्तासाझेदार एमालेको ढोक्सा भरिनेवाला छैन, यो कुरा एमालेले राम्रैसँग बुझेको पनि छ ।

तर केन्द्रको जस्तो परिस्थिति निम्त्याउन वा मन्त्रीहरु नै अपमानित भएपछि मात्रै सरकार छाड्ने दिनको पर्खाइ किन गरिरहेको छ ? स्वयम् मन्त्रीहरुलाई समेत थाहा छैन ।

शनिबार बसेको एमाले केन्द्रीय सचिवालयमा न कर्णाली सरकारबारे छलफल भयो न पार्टीले यसबारे प्रष्ट जवाफ दियो । मानौँ कर्णालीको निर्णयमा पार्टी केन्द्र अन्जान छ ।

मुलुककै प्रदेश संरचना स्वायत्त भएर चल्न सकिरहेका छैनन् । त्यसमाथि पार्टीका प्रदेश संरचना केन्द्रका आज्ञाकारी समिति मात्र हुन् ।

अघिल्लो कार्यकालमा तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाउन फ्लोर क्रस भएको यो प्रदेशमा अब सामान्य फ्लोर क्रसलेसमेत एमालेको ढोक्सामा माछा पर्ने कुनै गुञ्जायस छैन । ४० सदस्य रहेको यो प्रदेशमा एमालेका १० सांसद छन् । सबैभन्दा ठूलो नेपाली कांग्रेसका १४, माओवादीका १३, राप्रपाका एक, एकीकृत समाजवादीका १ र एक स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्