राजनीति

चितवन–२ मा न्यौपाने र तनहुँ–१ मा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत १८ गते १६:३१
चितवन–२ मा न्यौपाने र तनहुँ–१ मा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय (भिडियो रिपोर्टसहित)

१८ चैत २०७९ काठमाडौं । नेकपा एमालेले चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम टुंगो लगाएको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चितवन क्षेत्र नम्बर–२ मा जिल्ला नेता रामप्रसाद न्यौपाने र तनहुँ–१ मा पूर्वआइजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नागरिकताको मुद्दामा सर्वोच्च अदालतको आदेशले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएपछि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो । अदालतको आदेशपछि लामिछानेले नागरिकता पुर्नप्राप्ति गरिसक्नुभएको छ ।

अब राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेलाई नै चितवन २ मा उम्मेदवार बनाउने भएको छ । यस्तै रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रित्त रहेको तनहुँ क्षेत्र नम्बर १ मा एमालेले पूर्वआइजीपी खनाललाई उम्मेदवार बनाउन लागेको हो । खनालको स्थायी ठेगाना तनहुँ भानु नागरपालिका हो ।

कांग्रेस पारिवारिक पृष्ठभूमि बोकेका खनाल आइजीपीबाट अवकाश पाउँदै एमाले नजिक हुनुभयो । एमाले नेता महेश बस्नेतसहित खनाललाई जसपा नेता सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं अपहरणको शैलीमा ल्याएको आरोप लागेको थियो ।

तनहुँ १ मा एमालेले खनाललाई अघि सार्दा कांग्रेसले गोविन्द भट्टराई र रास्वपाले स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ । त्यस्तै बारा २ मा भने एमालेले भोलि मात्र निर्णय गर्नेभएको छ ।

बारा २ मा उपेन्द्र यादव जसपाबाट उम्मेदवार बन्दै हुनुहुन्छ भने जनमत पार्टीले शिवचन्द्रप्रसाद कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्