राजनीति

चितवन-२ र तनहुँ-१ को उपचुनावमा रोचक भिडन्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत १७ गते २१:१०
चितवन-२ र तनहुँ-१ को उपचुनावमा रोचक भिडन्त (भिडियो रिपोर्टसहित)

१७ चैत २०७९ काठमाडौं । आगामी वैशाख १० गते तीन निर्वाचन क्षेत्रमा उपचुनाव हुँदैछ । तीनै क्षेत्रमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच त्रिपक्षीय भिडन्त पक्का भएको छ ।

सत्ता गठबन्धनकै साना दलबीचको सहकार्यले बारा(२ मा थप रोचक भिडन्त हुने भएको छ भने चितवन–२ र तनहुँ–१ मा पनि कडा टक्कर पर्ने देखिन्छ ।

गत मंसिरमा जस्तै बैशाख १० मा हुने उप चुनावमा पनि हेभिवेट भिडन्त हुने देखिएको छ । चितवन–२, बारा–२ र तनहुँ–१ मा हुनलागेको उपचुनावमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच त्रिपक्षीय भिडन्त हुँदै छ ।

बारा–२ मा सत्ता गठबन्धनमै रहेका साना दलबीच सहकार्य हुने भएको छ । यस्तोमा कुन निर्वाचन क्षेत्रमा को को बीच भिडन्त हुँदै छ त ? आम चासोको विषय बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन(२ मा रवि लामिछाने, तनहुँ–१ मा डा स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाउने तयारी गरेसँगे भिडन्त थप रोचक देखिएको हो ।

चितवन–२
रास्वपाका सभापति रवि लामिछाने दोहोरो नागरिकता विवादमा दोषी ठहरिएसँगै सांसद पद खारेज भएपछि यो निर्वाचन क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

नागरिकता प्राप्त गरेसँगै लामिछाने पुन उम्मेदवार बन्न पाउने भएसँगै भिडन्त रोचक हुने भएको हो । यहाँ नेपाली कांग्रेसबाट पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ उम्मेदवार बन्नुभएको छ भने नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।

अघिल्ला दुई चुनाव जितेको एमाले यहाँ गत निर्वाचनमा तेस्रो भएको थियो । मंसिर ४ को निर्वाचनमा लामिछानेले ४९ हजार २६१ मत ल्याएर जित्दा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ९९ र एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मत ल्याउनुभएको थियो ।

तनहुँ–१
गत संसदीय निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै खाली रहेको तनहुँ(१ मा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । भट्टराई पहिलो पटक चुनाव लड्दै हुनुहुन्छ । एमालेले उम्मेदवार टुंगो लगाइनसके पनि पूर्वआइजिपी सर्वेन्द्र खनालको चर्चा छ ।

त्यसो त स्थायी कमिटी सदस्य किरण गुरुङ र नेता रामबहादुर गुरुङले पनि आकांक्षी छन् । एमाले र कांग्रेससँगको भिडन्तका लागि रास्वपाले उम्मेदवार बनाउँदै छ अर्थविद् स्वर्णिम वाग्लेलाई । यसअघि कांग्रेसको घोषणापत्र मस्यौदा समितिका संयोजक रहेका वाग्लेको रास्वपा प्रवेशकै कारण अब तनहुँ–१ को उपचुनाव पनि रोचक बन्ने पक्कापक्की छ ।

बारा–२
उपराष्ट्रपति रामसहायप्रसाद यादव चुनिएको बारा–२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वयं चुनाव लड्ने तयारीमा हुँदा सत्ता गठबन्धनकै साना दल विरोधमा छन् । सप्तरी–२ मा चुनाव हारे पनि बारा–२ बाट जितेर सांसद बन्ने यादवको चाहनामा लोसपा र जनमत पार्टी बाधक बन्न सक्छन् । लोसपाले नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउँदैछ ।

यसअघि रामसहायसँग ३५० मतले पराजित शिवचन्द्र कुशवाह माओवादी केन्द्र त्यागेर जनमत पार्टी प्रवेश गर्नुभएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले उम्मेदवार बनाउने बताइसक्नुभएको छ । रास्वपाले पूर्व डीआइजी रमेश खरेललाई उम्मेदवार बनाउँदै छ भने एमालेले भोलिसम्म उम्मेदवार तय गर्ने जनाएको छ । तीनै निर्वाचन क्षेत्रमा रोचक हेभिवेट भिडन्त हुँदै गर्दा वैशाख दशको चुनाव बढ्दो गर्मीसँगै थप गर्माउने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्