Main News

मिटरब्याज पीडितको आन्दोलनमा दलीय घुसपैठ ! (भिडियो रिपोर्टसहित)

२०७९ चैत १४ गते २०:५२
मिटरब्याज पीडितको आन्दोलनमा दलीय घुसपैठ ! (भिडियो रिपोर्टसहित)

१४ चैत २०७९ काठमाडौं । ११ दिन हिँडेर महोत्तरीबाट काठमाडौ आइपुगेका मिटरब्याज पीडितलाई भेट्ने र उनीहरुको मागमा ऐक्यवद्वता जनाउने होड नै चलेको छ ।

विभिन्न राजनीतिक दलका शीर्ष तहका नेताहरु पीडितलाई भेटेर उनीहरुको सेन्टिमेन्टमा खेल्न खोज्दा कतै पीडितको आन्दोलनमा राजनीति घुस्ने पो हो कि भन्ने चिन्ता थपिएको छ ।

मिटरब्याज पीडितले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरे । यहाँ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुग्नुभयो । खनालले त्यहाँ पीडितलाई न्यायको आश्वासन मात्रै दिनु भएन माग पुरा गराएरै छाड्ने बताउनुभयो ।

काठमाडौं आइपुग्ने बितिक्कैदेखि मिटरब्याज पीडितलाई भेट्ने होड नेताहरुमा छ । सोमबार जनमत पार्टीका अध्यक्ष सिके राउतले पीडितसँग सडकमै भेट्नुभयो । मातातीर्थ पुगेर भेटेका राउतले पीडितहरुको बसाइ र यहाँको व्यवस्थापनका बारेमा चासो राख्नुभयो । राउतले मिटर ब्याज पीडितको पक्षमा आफ्नो पार्टी रहेको भन्दै समस्या चाँडो समाधान नभए आफ्नो पार्टी पनि आन्दोलनमा जाने बताउनुभयो ।

मंगलबार माइतीघरबाट बानेश्वर पुगेका मिटरब्याज पीडितलाई भेट्न राप्रपाका नेता ज्ञानेन्द्र शाही पनि पुग्नुभयो । तर राजतन्त्र र संघीयता खारेजको पक्षपाती शाहीलाई पीडितले मन पराएनन् । उहाँविरुद्ध नाराबाजी नै भयो । यसले कतै न कतै राजनीतिक मुद्दा घुसाइएको आभाष हुन्छ ।

त्यसो त बिहानै टंगाल पुगेका पीडितलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालले आफूहरु पीडितहरुको साथमा रहेको बताए । समर्थन र विरोधमा नभइ समाधानको पहल गर्न आएको बताएका लामिछाने पनि अरु नेताजस्तै पीडितको सेन्टिमेन्ट लिने ध्याउन्नमा देखिनुभयो ।

त्यसो त नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको पारिवारिक ट्रष्ट यशोदादेबि भगवन सिंह केसी मेमोरियल ट्रस्टले त मिटरब्याज पीडितलाई आर्थिक सहयोग नै गर्न भ्यायो । केसीका भाइ जगदिश्वरनरसिंह केसी र केदार नरसिंह केसीसहितको टोलीले २५ हजार नगद सहयोग गर्यो ।

पीडितको माग पुरा गर्नका लागि दबाब बढाउनु जायज हो । तर त्यसलाई राजनीतिसँग जोड्दा माग पुरा नहुने र विषय बरालिने सम्भावना झनै बढ्दो हुन्छ । ११ दिन पैदल यात्रापछि काठमाडौं आइपुगेका पीडित यस पटक माग पुरा नभएसम्म घर नफर्कने मुडमा छन् । र उनीहरुको माग पुरा गराउनका लागि राज्यलाई दवाव दिन आवश्यक पनि छ ।

पीडितको स्वतस्फुर्त आन्दोलनमा ऐक्यवद्वताको लहर चल्नु पनि राम्रै हो । तर उनीहरुको भावनामा राजनीति गर्न खोजिएको हो भने त्यो उनीहरुकै लागि प्रत्युत्पादक बन्न सक्छ । यसतर्फ सबैले सोच्ने कि ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *