Main News

नारामा आधा आकाश, नेतृत्वमा १६ प्रतिशत घट्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत ११ गते २१:१५
नारामा आधा आकाश, नेतृत्वमा १६ प्रतिशत घट्यो (भिडियो रिपोर्टसहित)

११ चैत २०७९ काठमाडौं । यो वर्ष नेपालमा तीनै तहको निर्वाचनसँगै तीनै तहमा नयाँ सरकार क्रियाशिल छन् । सबै निर्वाचनमा गठबन्धन गरेका दलहरुले संवैधानिक बाध्यताबाहेक कानुनी छिद्रताको भरपुर उपयोग गर्दा तीनै तहका निर्णायक निकायमा महिला सहभागितालाई नजरअन्दाज गरेका छन्।

अझ संवैधानिक राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुने अवस्थाबाट दलहरु पन्छदा महिलाले महत्वपूर्ण अवसर पाउन सकेनन् ।

कानुनी छिद्रताको फाइदा लिँदै दलहरुले महिलालाई नेतृत्वबाट बञ्चित गराएका छन् । तीनै तहको निर्वाचनमा गठबन्धन हुँदा यो अवस्था झनै बढेको हो ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ को उपदफा ४ मा मनोनयन पत्र पेश गर्दा अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुख र जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुखमा कम्तिमा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ ।

त्यही उपदफामा कुनै पनि दलले दुई मध्ये कुनै एक पदमा उम्मेदवार उठाउँदा यो उपदफाको प्रावधान लागु नहुने उल्लेख छ । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच घोषित तालमेल र नेकपा एमालेले केही तहमा लोकतान्त्रिक समाजवादीसँग तालमेल गरेका थिए ।

दलबीचको तालमेलपछि एउटा दलबाट प्रमुख र अर्को दलबाट उपप्रमुख उठाउँदा दुबै पदमा पुरुष उम्मेदवार नै बढी विजयी भएका छन् । जसका कारण
स्थानीय तहमा महिला नेतृत्व २०७४ को तुलनामा ०७९ को निर्वाचनपछि १६ दशमलव ८३ प्रतिशतले घटेको छ । २०७४ र २०७९ मा भएका स्थानीय तहको मत परिणमका आधारमा महिला प्रमुखमा ६ र अध्यक्षमा १ सिट बढेको देखिन्छ । जिल्ला समन्वय समितिमा ४ जना महिला प्रमुख छन् भने ३१ जना महिला उपप्रमुख छन् । यदि गठबन्धन नहुँदो हो त महिला सहभागिता ५० प्रतिशत सुरक्षित हुने थियो ।

अघिल्लो पटक ७५३ पालिका मध्ये १८ प्रमुख वा अध्यक्ष सहित ७१८ महिला नेतृत्वमा थिए । यो पटक २५ प्रमुख वा अध्यक्षसहित ५९१ महिला नेतृत्वमा छन् । तथ्यांक हेर्दा स्थानीय तहको नेतृत्वमा एक सय २७ जना महिला घटेका छन् ।

तथ्यांकमा स्थानीय तहको महिला सहभागिता
पद २०७४ २०७९
प्रमुख–७ १३
अध्यक्ष– ११ १२
दुवै पदमा– १८ २५
उपप्रमुख– २७६ २३१
उपाध्यक्ष– ४२४ ३३५
दुवै पदमा– ७०० ५६६
वडाध्यक्ष– ६१ ६९

स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमोर्चाको गठबन्धनबाट निर्वाचित संख्या
अध्यक्ष– २१५ जना
महिला अध्यक्ष– ८ जना
उपाध्यक्ष– ३१८ जना
महिला उपाध्यक्ष– २०८ जना
पुरुष उपाध्यक्ष– ११० जना
प्रमुख– १८९ जना
महिला प्रमुख– ६ जना
उपप्रमुख– १६७
महिला उपप्रमुख– १२१
पुरुष उपप्रमुख– ४६

एमालेबाट स्थानीय तहमा निर्वाचित
प्रमुख– ८३ जना
महिला प्रमुख– ६ जना
उपप्रमुख– ११५ जना
महिला उपप्रमुख– १०४ जना
पुरुष उपप्रमुख– ११ जना
अध्यक्ष– १२३ जना
महिला अध्यक्ष– ४ जना
उपाध्यक्ष– १२६ जना
महिला उपाध्यक्ष– ११३ जना

जिल्ला समन्वय समिति निर्वाचन(२०७९ मा तत्कालीन पाँच दलीय गठबन्धनबाट
प्रमुख– ५४ जना
महिला प्रमुख– ३ जना
उपप्रमुख– ५६ जना
महिला उपप्रमुख– १९ जना

एमालेबाट जिससमा
प्रमुख– २१ जना
महिला प्रमुख(१ जना
उपप्रमुख– १८ जना
महिला उपप्रमुख–१२ जना

प्रदेशसभाका सभामुख उपसभामुख
७ वटा प्रदेशसभामध्ये एउटा प्रदेशसभामा मात्रै महिला सभामुख हुनुहुन्छ । कर्णालीमा एमालेकी नन्दा गुरुङ सभामुखको जिम्मेवारीमा हुनुहुन्छ । सातै प्रदेशमा महिला उपसभामुख छन् ।

प्रदेश पद नाम दल

कोशीः उपप्रमुख सृजना दनुवार नेकपा एमाले
मधेशः उपप्रमुख बबिता कुमारी राउत जनमत
बागमतीः उपप्रमुख अप्सरा चापागाईं नेकपा एमाले
गण्डकीः उपसभामुख बबिता थापा नेकपा एमाले
लुम्बिनीः उपसभामुख मेनुका केसी राप्रपा
कर्णालीः सभामुख( नन्दा गुरुङ नेकपा एमाले
कर्णालीः उपसभामुख यसोदा न्यौपाने माओवादी केन्द्र
सुदुरपश्चिम उपसभामुखः कोइलीदेवी चौधरी नेकपा एमाले

संघीय संसदको प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षमा पनि महिला छन् ।

यी बाहेक राष्ट्रपति, उपराष्ट्रपतिमा यो पटक महिला सहभागिता शून्यमा पुगेको छ । त्यसो त संवैधानिक निकायहरु र आयोगहरुको प्रमुखमा पनि महिला सहभागिता शून्य छ । दलहरुबीच भागवण्डा र अस्तित्व रक्षाका लागि भएको गठबन्धनले नेतृत्वमा महिलालाई निमोठ्ने काम मात्रै भएको तथ्यांकले देखाएको छ । आधा आकासको नारा लगाउन तँछाड मछाड गर्ने दलका शीर्ष नेताहरुलाई यो तथ्यांकले गिज्याइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *