Main News

कांग्रेस नेता भण्डारीसहित चार जनाका नाममा लाखौं सहयोग निकासा

हिमालय टिभी
२०७९ चैत ७ गते १६:५४
कांग्रेस नेता भण्डारीसहित चार जनाका नाममा लाखौं सहयोग निकासा

७ चैत २०७९ काठमाडौं । सरकारले नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीसहित ४ जनालाई ६४ लाख ८८ हजारबढी रकम सहयोग स्वरुप निकासा गरेको छ भने पूर्वउपराष्ट्रपति परमानन्द झाका सवारी चालकको तलब भत्ताका लागि रकम निकासा गरेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कांग्रेस नेता भण्डारीको उपचारका लागि ५५ लाख ८८ हजार १ सय ६४ रुपैयाँ दिने निर्णय भएको छ । ग्यास लिक भएर आगो लागेर घाइते भएका भण्डारी भारतमा उपचाररत् हुनुहुन्छ ।

उहाँको उपचारका लागि लाग्ने सबै खर्च सरकारले व्यहोर्ने निर्णय गत फागुन ११ गते भएको थियो । यस्तै पूर्वसांसद विश्वेन्द्र पासवान, लमजुङका रामबाबु अधिकारी र कालिकोटका संग्रामे सार्कीलाई जनही ३ लाख रुपैयाँ दिएको छ ।

त्यस्तै पूर्वउपराष्ट्रपति परमानन्द झाका निजि सवारी चालकलाई पारिश्रमिक स्वरुप २ लाख ७६ हजार १ सय २० रुपैयाँ निकासा गरेको छ । झाका चालकलाई पारिश्रमिक दिने मन्त्रिपरिषद्ले गत असोज ७ गते निर्णय गरेको थियो ।

यस्तै एक बजेट उपशिर्षकबाट अर्को बजेट उपशिर्षकमा १ अर्ब ६५ करोड रुपैयाँ रमान्तर गरिएको छ । बुढी गण्डकी आयोजनाबाट नदी नियन्त्रण शीर्षकमा ४० करोड रुपैयाँ र सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई एक अर्ब रुपैयाँ रकमान्तर गरिएको छ । त्यस्तै उत्तरदक्षिण राजमार्गको १० करोड रुपैयाँ मदन भण्डारी राजमार्गलाई रकमान्तर गरिएको छ ।

यस्तै, प्रदेश राजमार्ग स्तरोन्नती कार्यक्रमबाट रकमान्तर गर्दै धुलिखेल–सूर्यविनायक र कोटेश्वर–बानेश्वर–त्रिपुरेश्वर सडकखण्डका लागि १५ करोड रुपैयाँ दिइएको छ । राष्ट्रपति कार्यालयको श्रव्यदृश्य सामग्री निर्माणका लागि ७ लाख रुपैयाँ दिइएको छ । रासायनिक मल आयातका लागि ७ अर्ब ७५ करोड रुपैयाँ निकासा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *