Main News

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

शाहको पक्षमा ४१  र विपक्षमा ११ मत

हिमालय टिभी
२०७९ फागुन २१ गते १७:०५
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

२१ फागुन २०७९ धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाईको विश्वासको मत प्राप्त गर्नुभएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा बहुमत संख्या पुगेको घोषणा गर्नुभयो । सभामुखबाहेक ५२ सदस्यीय प्रदेशसभाबाट मुख्यमन्त्री शाहले ४१ मत प्राप्त गर्नुभयो ।

कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र सांसदले उहाँलाई विश्वासको मत दिएका थिए । विश्वासको मतको विपक्षमा ११ मत परेको छ । एमालेका १० र एक जना राप्रपा सांसदले विपक्षमा मत दिए ।

यसअघि, नेकपा माओवादी केन्द्र र उन्मुक्ति पार्टीले मत नदिने बताएका थिए । तर, केन्द्रको निर्देशनपछि माओवादी केन्द्र भने मत दिन तयार भएको थियो ।

पुस २७ मा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि शाह माघ २६ मा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । विश्वासको मत दिने दलहरुले शाह नेतृत्वको सरकारमा सहभागीसमेत हुने निर्णय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *