Main News

विकसित देशमा कति हुन्छ सार्वजनिक विदा ? नेपालमा बिदै-बिदा, मारमा जनता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २५ गते २०:३१
विकसित देशमा कति हुन्छ सार्वजनिक विदा ? नेपालमा बिदै-बिदा, मारमा जनता (भिडियो रिपोर्टसहित)

२५ माघ २०७९ काठमाडौं । विकसित देशमा वार्षिक १० दिनको हाराहारीमा मात्र सार्वजनिक विदा दिइने गरिन्छ । तर नेपालमा भने शनिवारबाहेक ४० दिनभन्दा बढी विदा हुने गरेकोछ ।

सरकारले यो वर्ष ४३ दिनसम्म सार्वजनिक विदा दिएको छ । यसले सरकारी सेवा प्रवाह कमजोर मात्र बनेको छैन, नागरिकले सास्तीसमेत खेप्नुपरेको छ ।

मंगलबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विदा धेरै हुँदा सेवा प्रभावित भएको स्वीकार गर्नुभएको छ । प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठकमा उहाँले सरकारी विदा धेरै भएको स्वीकार गर्नुभयो । तर, उहाँ आफैं प्रधानमन्त्री भएपछि विदा थपेको थप्यै हुनुहुन्छ ।

पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले क्यालेण्डरमै उल्लेख भएको भन्दा २ दिन थप विदा दिनुभयो । राष्ट्रिय एकता दिवस मनाउन भन्दै पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा मन्त्रपरिषद्को निर्णयबाट पुस २७ गते विदा दिनुभयो । त्यसपछि, माघ १ गते आइतबार पोखरामा यती एयरको विमान दुर्घटनामा पर्यो। बिमान दुर्घटनामा परि ७२ जना को मृत्यु भयो । तत्कालै सरकारले शोक घोषणा गर्दै माघ २ गते सार्वजिनक विदा दियो । यो त थपिएको विदा भयो ।

२०७९ बैशाखदेखि चैतसम्मको सार्वजनिक बिदाको अवस्था
शनिबार बिदा– ५२ दिन
चाडपर्व बिदा– १६ दिन
दशैं–तिहार बिदा– ११ दिन
दिवस बिदा– ५ दिन
जन्मजयन्ती बिदा– १ दिन

यी बाहेक पनि काठमाडौं उपत्यकामा मात्र चार दिन जात्रा बिदा दिइएको छ । धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि प्रदेश र स्थानीय तहले पनि अलगै विदा दिने गरेका छन् । यो वर्ष राजपत्रमै प्रकाशित मुलुकभर सार्वजनिक विदा ३३ दिन रहेको छ ।

यसबाहेक पनि सरकारले गत वैशाख यता दिएको विदा हेरौं –
२०७९ वैशाख ३० गते– स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा
२०७९ कात्तिक १ गते संस्कृतिविद् सत्यमोहन जोशीको निधनमा सार्वजनिक बिदा

पुस २७ गते पृथ्वी जयन्ती र माघ १ मा सरकारले दिएको सार्वजनिक विवादसँगै यस बर्ष शनिवारबाहेक ३५ दिन सार्वजनिक विदा पुग्छ । यो बाहेक पनि सांस्कृतिक, निश्चित भूगोल, निश्चित क्षेत्रको जात्रा लगायत विदा समेत जोड्ने हो भने ४५ दिन हुन आउँछ ।

शनिवारलाई पनि गणना गर्ने हो भने यसवर्ष ९७ दिन विदा पुगेकोछ ।अझ सरकारी कर्मचारीलाई त थप विदाको समेत सुविधा छ । सरकारी कर्मचारीले यसवर्ष १ सय ४१ दिनसम्म विदा पाउनेछन् । ५२ दिन शनिवारको विदा कर्मचारीसँग सुरक्षित छ भने १२ दिन बिरामी विदा तथा १२ दिन भइपरी विदा उनीहरुले लिन पाउँछन् । त्यसैगरी ३० दिन घरविदा लिने छुट सरकारी कर्मचारीलाई छ भने ३५ दिन सरकारी विदा गरी उनीहरुले एक वर्ष अर्थात् ३ सय ६५ दिनमा १ सय ४१ दिनसम्म विदा बस्न पाउँछन् ।

तर छिमेकी देश भारतमा २१ दिन मात्र बिदा छ । बेलायतमा ८ दिन, जर्मनीमा ९ दिन, अमेरिका र क्यानडामा १० दिनमात्र सार्वजनिक बिदा दिइन्छ । तर नेपालमा भने विदाको जात्रा नै छ । देशका ठूला घटनामा सार्वजनिक विदा, कुनै नेताको मृत्यु हुँदा सार्वजनिक विदा, सबैखाले चाड पर्वहरुमा राष्ट्रिय विदा । र,यतिसम्म भयो कि कुनै जात विशेषको धर्मगुरुको जन्मजयन्तीमा पनि सार्वजनिक विदा दिने चलन छ । राजनीतिक नेतृत्वले सबै वर्ग र समुदायलाई रिझाउनका लागि भनेर विदा दिदा देशले दीर्घकालीन हानी व्यहोरिरहेको छ भन्छन्

सरकारले ५ वर्षअघि सार्वजनिक विदा पुनरावलोकन गर्न कार्यदल पनि बनाएको थियो । तर त्यो कार्यदलले कति काम गयो वा काम कहाँ पुग्यो अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन । विकसित देशमा सार्वजनिक विदा घटाएर काम गर्ने दिन बढाइँदै छ भने नेपालमा भने त्यसको ठीक विपरीत सार्वजनिक विदा थपिँदै छ । यो भन्दा लज्जाको विषय अरु केही हुन सक्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *