Main News

पश्चिमाको बाक्लिँदाे भ्रमण : एक महिनामा चार अमेरिकी उच्च अधिकारी काठमाडौंमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २४ गते २१:१७
पश्चिमाको बाक्लिँदाे भ्रमण : एक महिनामा चार अमेरिकी उच्च अधिकारी काठमाडौंमा (भिडियो रिपोर्टसहित)

२४ माघ २०७९ काठमाडौं । अमेरिकी–चीन सम्बन्ध कहिले तनाव त कहिले सम्बन्ध सुधारको प्रयासमा केन्द्रित रहँदा चीनसँगै जोडिएको नेपालमा अमेरिकी नजर परेको छ । एक महिनाको अन्तरालमा ४ अमेरिकी उच्च अधिकारीले काठमाडौं भ्रमण केन्द्रित गरेका छन् ।

उनीहरु नेपाल मात्र होइन, दक्षिण एसियामै आफ्नो प्रभाव कायम राख्न चाहन्छन् । दुई ठूला राष्ट्र चीन र भारतको बफर जोन रहेको नेपालमा अमेरिकी प्रभाव स्थापित गर्ने पश्चिमा चाहना पूरा गर्ने शिलशिलामा लगातार यी भ्रमण हुन थालेका छन् । युरोपियन युनियन र बेलायतले समेत काठमाडौंमा चासो बढाएको छ ।

नेपालको सिमाना भारतसँग १८ सय ५० किलोमिटर रहेको छ भने चीनसँग १३ सय ८९ किलोमिटर छ । यी दुई शक्ति राष्ट्रको बीचमा रहेको नेपाल राजनीतिकरुपमा कमजोर छ । कमजोर मुलुक अमेरिकाका लागि अबसर बन्न सक्छ । त्यसैले उ लामो समयदेखि नेपालमा वर्चश्व कायम गर्न चाहन्छ । सन् २०१७ भन्दा पहिले भारतकै नजरबाट नेपाल नियाल्ने अमेरिका अहिले खुल्लारुपमै ह्वाइट हाउसबाटै नेपाल नीति हेर्न थालेको छ । बाइडेन–ह्यारिस प्रशासनका उच्चअधिकारीहरुको काठमाडौं आगमनको सन्देश यही छ ।

सामन्था पावर
मंगलबार दुईदिने भ्रमणका लागि काठमाडौं उत्रिएकी सामन्था पावर, अमेरिकी क्याबिनेट तहकी उच्च अधिकारी हुन् । पावर अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएआईडीकी प्रमुखसँगै राष्ट्रिय सुरक्षा परिषद्की पदेन सदस्य पनि हुन् । राष्ट्रिय सुरक्षा परिषद् ह्वाइट हाउस मातहत नै रहन्छ ।

अफ्रिन अख्तर
पावरपछि फागुन २ गते दक्षिण तथा मध्य एसिया मामिला विभागकी उपसहायक मन्त्री अफ्रिन अख्तर आउने तयारीमा छन् । उनी अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्मा काम गरिसकेकी अधिकारी हुन् ।

रियर एडमिरल इलिन लाउबाचार
अख्तरपछि राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचार पनि नेपाल आउने तयारीमा छन् । उनले गत मंसिर २३ गते वासिङटनस्थित नेपाली राजदूतावास पुगेरै राजदूत श्रीधर खत्रीसँग भेटवार्ता गरिन ।

भिक्टोरिया न्युल्याण्ड
गत माघ १६ गते आएकी वाइडेन–ह्यारिस प्रशासनकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया न्युल्याण्डले २२ घण्टा काठमाडौंमा विताइन । उनीे नेपालको आर्थिक विकास, सार्वभौमिकता र संक्रमणकालीन न्यायकाबारे वासिङ्टनको चासो रहेको सन्देश दिएर फिर्ता भइन ।

एकमहिनाभित्र यी अमेरिकी अधिकारीहरुको काठमाडौं आगमनले प्रष्ट सन्देश दिएको छ, नेपाल चीनतिर नढल्कियोस् । तर, यस्तो अवस्थामा नेपाल चनाखो बन्न जरुरी छ । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको अनुदानमा सञ्चालित परियोजनाका विषयमा अमेरिकी अधिकारीहरूको चासो बढेको छ । मुख्य बामघटक दल एमाले र माओवादी केन्द्रको समीकरण बनेकोले वर्तमान सरकारको चाहना बुझ्ने र अमेरिकाले स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीको प्रस्ताव पुनः दोहोर्याउने योजना बनाएको जानकार बताउँछन् ।

विश्वलाई आफ्नो कित्तामा पार्न चीन र अमेरिकाले चालेका बीआरआई र एमसीसीका परियोजनाका बीचमा नेपालको समग्र वर्तमान राजनीति घुमेको छ । बीआरआईमार्फत् चीनले नेपालमा १ बिलियन अमेरिकी डलर र अमेरिकाले एमसीसीमार्फत् ५ सय मिलियन अमेरिकी डलर लगानी गर्दै छन् । चीनको सम्पूर्ण ऋण हो भने अमेरिकाको शर्तसहितको सहयोग हो ।

इन्डोप्यासिफिक रणनीति र बीआरआईको विश्व रणनीति वरिपरि विश्व राजनीति घुमेको छ । अमेरिका मात्र होइन, पश्चिमाहरुको चासो नेपालमा झनै बढेको छ । इन्डोप्यासिफिक रणनीति हेर्ने बेलायती विदेश राज्यमन्त्री आन म्याररी ट्रिभिलियनको हुन लागेको काठमाडौं भ्रमणले पनि नेपाल यो रणनीतिको दबाबमा पर्नेछ ।

को–को आउँदैछन् युरोपबाट ?
युरोपियन युनियनकी आयुक्त जुटा उर्पिलाइनेन– फेब्रअरी ८
बेलायती विदेश राज्यमन्त्री आन म्यारी ट्रिभिलियन– मार्च पहिलो साता
बेलायती रक्षा अधिकारीको भ्रमण तयारी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *