Main News

ठेकेदार मन्त्री ! समयमा काम नगर्ने, म्याद थपेको थप्यै (भिडियो रिपोर्टसहित)

२०७९ माघ २१ गते १८:२९
ठेकेदार मन्त्री ! समयमा काम नगर्ने, म्याद थपेको थप्यै (भिडियो रिपोर्टसहित)

२१ माघ २०७९ धनगढी । धनगढीमा एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालन भएको क्षेत्रीय सहरी विकास आयोजनाको १० किलोमिटर सडक निर्माणको काम समयमा सम्पन्न हुन सकेको छैन ।

२०७७ साउन २८ गते २ वर्षमा सडक निर्माण सम्पन्न गर्ने गरी कालिका कन्सट्रक्सन प्रालिसँग सम्झौता भए पनि यो अवधिमा सडक निर्माणको काम सम्पन्न हुन नसकेको हो । २०७९ पुस १६ सम्म काम सम्पन्न गर्ने गरी ठेक्का पाएको कालिका कन्सट्रक्सनले हालसम्म ६२ प्रतिशत मात्रै भौतिक प्रगती गरेको छ ।

सहरी विकासमन्त्री विक्रम पाण्डे सञ्चालक रहेको कालिका कन्सट्रक्सन प्रालिले ठेक्का लिएका अधिकांश निर्माण कार्य अलपत्र छन् । त्यसैमध्यको एक हो, कैलालीमा निर्माणाधिन सडक ।

‘कन्फिल्क्ट अफ इन्ट्रेष्ट’को चर्चा भइरहँदा सहरी विकास मन्त्रालय मातहत रहेको यो सडकखण्ड निर्माण अलपत्रै हुँदा मन्त्री पाण्डेमाथि औंला सोझिएको छ । २ बर्षभित्र काम सम्पन्न गर्ने गरी २०७७ साउन २८ गते धनगढीको १० किलोमिटर सडक निर्माणका लागि सम्झौता गरे पनि अहिलेसम्म ६२ प्रतिशत मात्रै भौतिक प्रगती भएको छ । समयमा काम सम्पन्न नहुँदा स्थानीय आक्रोशित छन् ।

समयमा काम नसकेको कम्पनीले २०८० जेठ १७ सम्मका लागि म्याद थप गर्न निवेदन दिएको छ । पहिलो चरणमा १० किलोमिटर लम्बाईका ७ वटा सडक ६८ करोड ५ लाख ९८ हजारमा निर्माण गर्नेगरी सम्झौता भएको थियो।

धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाईको हुलाकी सडक–जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि गत असारमा सम्झौता भएको थियो।

विवभागीय मन्त्रीकै कम्पनीले निर्माण कार्य समयमा सम्पन्न नगरेपछि पाण्डेमाथि नैतिकताको प्रश्न उठेको छ । आफैं नीति बनाउने निकायमा हुँदा समेत काम नगर्ने भन्दै आम नागरिक आक्रोशित छन् । धनगढीका यी सडक निर्माण गरिरहेको कालिका कन्सट्रक्सनका सञ्चालक समेत रहेका मन्त्री पाण्डेले अबको ५ महिनाभित्र काम सम्पन्न नगरे आन्दोलन गर्ने स्थानीयको चेतावनी छ ।

कोरोना लगायत बिविध कारण देखाउँदै ५ महिना म्याद थपका लागि आवेदन दिएको कम्पनिलाई आयोजनाले म्याद थप दिने जनाएको छ । तर २ बर्षको अवधीमा भएका काम अनुसार अबको ५ महिनामा करिब ४० प्रतिशत काम हुने सम्भावना देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *