किन आए एमाले महासचिव पोखरेल रवि लामिछानेको बचाउमा ? (भिडियो रिपोर्टसहित)

१५ माघ २०७९ काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल पूर्वगृहमन्त्री रवि लामिछानको बचाउमा उत्रिनु भएको छ ।
पोखरेलले लामिछानेविरुद्ध सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यले मुद्दा हालिएको आरोप लगाउनु भएको हो ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पोखरेलले लामिछानेको नागरिकता प्रकरणले सत्ता समिकरणमा फेरबदल नहुने स्पष्ट दाबीसमेत गर्नुभयो ।
उहाँले राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरुका कारण नबिथोलिने भन्दै समस्याहरुको समाधान गरिने बताउनु भयो । महासचिव पोखरेलले विगतमा पिआर लिएर विदेशमा बसेका थुप्रै व्यक्तिहरु नेपाल फर्किंदा स्वतः नेपाली नागरिक भएका आम अभ्यास रहेको भएपनि कसैले प्रश्न नउठाएको बताउनु भयो ।
महासचिव पोखरेलले रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चमत्कारिक रहेकोसमेत टिप्पणी गर्नुभयो ।
उहाँले अदालतमा त्यस्तै प्रकृतिका मुद्दाहरुको निरुपण गर्न उदासिन हुने र प्रक्रिया नै अगाडि नबढ्ने स्थिति हुने तर कतिपय मुद्दाहरुको फटाफट निर्णय हुने गरेको भन्दै यसको यथोचित जवाफ अदालतले दिनुपर्ने बताउनु भयो ।
पोखरेलले आफूहरुले अदालतको फैसलालाई भने सम्मान गर्ने बताउनु भयो ।
प्रतिक्रिया