Main News

प्रेमप्रसादको आत्मदाहपछि सामाजिक सञ्जालमा पोखियो आक्रोश, कसले के भने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ११ गते २०:५८
प्रेमप्रसादको आत्मदाहपछि सामाजिक सञ्जालमा पोखियो आक्रोश, कसले के भने ? (भिडियो रिपोर्टसहित)

११ माघ २०७९ काठमाडौं । प्रेमप्रसाद आचार्यको आत्मदाहलाई लिएर प्रयोगकर्ताले सामाजिक सञ्जालमा अधिक आक्रोश व्यक्त गरिरहेका छन् । अधिकांशले राज्य, राजनीति र राजनीतिक नेतृत्वलाई दोष दिइरहेका छन् ।

केहीले भने घटना दुखद् भएपनि आउँदा दिनका लागि गम्भीर हुन राज्य सञ्चालकलाई दबाब बढाएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा व्यक्त भइरहेको आक्रोश र बहसमध्ये विभिन्न क्षेत्रमा सक्रिय र परिचित केही व्यक्तिका धारणा अबको क्रममा ।

१. उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक छ । सबैले बेलैमा गम्भीरतापूर्वक लिऊँ, उपचार खोजौं । अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ । आरोप–प्रत्यारोप हैन आत्मसमीक्षा गरौं । र, सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरौं !
– बाबुराम भट्टराई, अध्यक्ष नेपाल समाजवादी पार्टी

२. आत्मदाह गलत हो, तर आत्मदाहको अवस्थासम्म पुग्नुपर्ने अवस्थाको खोजी हुनुपर्छ । प्रेम आचार्यले उठाएका कतिपय विषयलाई सरकार, दल र समाजले यथोचित ध्यान दिनुपर्छ, सम्बोधन गर्नुपर्छ ।
– कमल थापा, अध्यक्ष राप्रपा नेपाल

३. आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो । दुःख त यसमा लागेको छ कि हामीजस्ता नयाँहरुको आगमनले समेत तपाईंमा आशा जगाउन सकेन । आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु ।
– रवि लामिछाने, उपप्रधान एवं गृहमन्त्री

४. प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ । हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणवारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंक गणितमै अल्झिरहने रु
– शेखर कोइराला, नेता नेपाली कांग्रेस

५. प्रेम आचार्यजीको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न । तर, गरेर खान चाहने सोझा–साझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो ।
– सीके राउत, अध्यक्ष जनमत पार्टी

६. त्यो आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य हो । र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंग असफल भएका छन् ।
– बालेन्द्र साह, प्रमुख काठमाडौं महानगरपालिका

७. विभिन्न क्षेत्रमा स्थापितत हुन निरन्तर प्रयास गरेको एक व्यक्ति अन्ततः हार खाएर संसद अगाडि आत्मदाह गर्नु साह्रै हृदयविदारक र पिडादायी छ । के देशमा परिश्रमको मूल्य छैन ?
– मोहना अन्सरी, अधिकारकर्मी

८. अत्यन्त दुखद १ मुलुकको यूवा शक्तिमा आएको चरम निराशाको परिणाम हो– आत्मदाह । विचौलिया, दलाल र भ्रष्टहरूको संरक्षक आजको राजनीति हो ।
– मुमाराम खनाल, विश्लेषक

९. आत्महत्या वा आत्मदाहको बाटो मान्छेले दुई अवस्थामा रोज्छ, आवेशमा र अवसादमा । प्रेम आचार्यको हृदयस्पर्शी अभिव्यक्ति पढ्दा उनी अवसादमा पुगिसकेका हैनन् भन्ने प्रस्ट हुन्छ । उनलाई त्यहाँ पु¥याएको चाहिँ हाम्रो भ्रष्ट राजनीति र सामाजिक व्यवस्थाले हो।
– अभय श्रेष्ठ, लेखक

१०. यसरी फेरि कसैले पनि ज्यान फाल्न नपरोस् । प्रेमप्रसाद आचार्यले साना उद्यमी व्यवसायीको पीडालाई छर्लङ्ग पारेर असमयमै जानुभयो । आउँदा दिनमा व्यापार चक्रमा सुधार आओस् र राज्यले साना करदाताको पीर–मर्कालाई समयमै सम्बोधन गरोस् ।
– रञ्जित आचार्य, व्यवसायी

११. आत्मदाहको आगोसमेत तापेर जाडोमा न्यानो महसुस गर्दै गफ गर्न छाडौं । उनको ऋण माफ गराऊँ र परिवारको भविष्य सुरक्षित गरौं । संसद र सिंहदरबारले उनलाई बचाउन नसके पनि परिवारलाई बचाउने निर्णय त गर्ला नि ?
– विजय पौडेल, पत्रकार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *