Main News

आत्मदाह गर्नबाट कसरी रोकिएलान् प्रेमहरू ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ११ गते २०:३८
आत्मदाह गर्नबाट कसरी रोकिएलान् प्रेमहरू ?(भिडियो रिपोर्टसहित)

१ माघ २०७९ काठमाडौं । पछिल्लो समय आत्महत्या वा आत्मदाह गर्नेहरुको मुल समस्या आर्थिक देखिन्छ । कतिपय प्रेम वा अन्य व्यक्तिगत विषयले आत्महत्याको निर्णयमा पुगे पनि अधिकांशको जड आर्थिक समस्या देखिने गरेको छ ।

आत्महत्या कुनै पनि कुराको समाधान नभई थप समस्या हो । तर नागरिक आर्थिक रुपमा कमजोर भएर यो अवस्थामा पुग्दा सरकार जिम्मेवार बन्नुपर्दैन ?

आफ्नै बलबुतामा गरी खाने उपाय सकिएपछि इलामका प्रेमप्रसाद आचार्यले मंगलबार दिउँसो संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाउँदा प्रधानमन्त्री पुष्पकमल दाहालको कारगेड छेउबाटै हुँइकिदै थियो । संयोग या योजना, प्रधानमन्त्रीकै सामुन्ने जलेर प्रेमले सत्ता र शासकको मुहारमा मोसो पोतिदिएका छन् ।

आफ्नो शरीरमा पेट्रोल छर्किन मात्र नसकेका तर आफ्ना सपना र रहरको आत्मदाह गरिसकेका प्रेमहरु धेरै छन् यो देशमा । एउटा प्रेमको दुस्साहसमा अनेकौं प्रेमहरु लामवद्ध नहुन् भन्ने कामना गर्नुअघि परिवार, समाज र देशमा आमूल परिवर्तनको खाँचो छ ।

देशमै केही गरौं भन्नेका लागि न टेक्ने खुड्किलो छ न समाउने हाँगो । सानो काम गरौं समाजले हेप्छ । ठूलो गरौं सामथ्र्य छैन । केही सीप नचलेपछि मुग्लान भासिनुपर्ने बाध्यता छ । दुई÷चार पैसा जोहो गरेर स्वदेश फर्किएकाहरु इलम गर्न त चाहान्छन् । तर, वातावरण छैन् ।

प्रेमप्रसाद आम युवाका प्रतिनिधि पात्र हुन् । जसले आफ्नै खुट्टामा उभिन खोजे । इलम थाले । तर, पाइला–पाइलामा ठेश लागिरह्यो । यो समाज र बजार व्यवस्थाले उठ्नै नसक्ने गरी थिचिरह्यो । परिवार अविश्वासी भयो । भरथेग गर्नु पर्नेहरु पराई भए । संसारै अध्यारो देखेपछि प्रेमले आत्मदाहको बाटो रोजे । राज्यले प्रेमलाई उज्यालो देखाउनै सकेन ।

यो देशको राजनीतिले व्यवस्था बदल्यो । तर, बदलेन नागरिकको अवस्था । हजारौं प्रेमहरु अवस्था बदलिएको हेर्न आतुर छन् । तर, सत्ता र शासक त्यो दिशामा छैनन् । एउटा यूवाले आफ्नै शरीरमा आगो झोस्दा पनि यहाँ सत्तालाई पोलेको छैन । सडकलाई दुखेको छैन । केही थान नागरिक कराएको भरमा बदलिन्न देश र नागरिकको अवस्था । बरु, जलिरहनुपर्ने छ प्रेमहरु ।

प्रेमले जाँदा–जाँदै यो देशको मुखुण्डो उतारिदिएका छन् । शासन–सत्ताको कुरुप रुप देखाइदिएका छन् । बेथिती र विकृतिको चाङ उधिनिदिएका छन् । यो देशमा व्यापारिक घराना, बित्तीय संस्था र सरकारी निकायले साना उद्यमीको कतिसम्म हुर्मत लिँदा रहेछन् भन्ने तथ्य प्रेमले उजागर गर्देका छन् । शासकले सुधार चाहान्छ भने गर्ने ठाउँ र काम देखाइदिएका छन् उनले ।

भन्ने गरिन्छ, राज्य क्रुर व्यापारी हो । तर यही क्रुरताबाट माथि निस्किनका लागि त नागरिक आन्दोलनले यत्रा परिवर्तन सम्भव भए । के नागरिककै बलमा प्राप्त सफलतापछि पनि यो राज्य प्रेमले ठाने झैं नागरिकसँग क्रुर व्यापारी नै बनिरहने हो ?

बाँच्न पाउने संवैधानिक हक छ । प्रत्येक नागरिक सम्मानपूर्वक बाँच्न पाउनुपर्छ । राज्यले वातावरण बनाइदिनुपर्छ ।

हत्या गर्नु अपराध हो, त्यो आफैमाथिको किन नहोस् । अझ, आत्महत्याका लागि दुरुत्साहन गर्नु पनि अपराधै हो, प्रेमको सन्दर्भमा भन्ने हो भने उनीमाथि त संस्थागत दुरुत्साहन भएको छ ।

प्रेमले फेसबुक नोटमा उल्लेख गरेका घटना, सन्दर्भ र पात्र हुन् दुरुत्साहनकर्ता । आत्महत्या दुरुत्साहनको मुद्दा खेपेर राजनीतिमा आएका गृहमन्त्री रवि लामिछानेले परिवारलाई आश्वासन दिए झैं तिनीहरु विरुद्ध दुरुत्साहनको आरोपमा अनुसन्धान गर्नरगराउन सकून् । र, दोषीलाई कठघरामा उभ्याउन ।

सन्दर्भ र घटना दुखद् भएपनि प्रेमको नोट शासकका लागि मार्ग निर्देशन हो । र, आम युवाका लागि अवस्था सुधारको मार्गचित्र । प्रेमले उठाएका समस्या समाधानमा शासन–सत्ता गम्भीर भयो भने अरु प्रेमहरु गरि खाएरै बाँच्न पाउँनेछन् यो देशमा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *