आलंकारिक राष्ट्रपतिमा दलहरूको अचम्म लाग्दो मरिहत्ते (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ८ गते २१:२०
आलंकारिक राष्ट्रपतिमा दलहरूको अचम्म लाग्दो मरिहत्ते (भिडियो रिपोर्टसहित)

८ माघ २०७९ काठमाडौं । नेपालको संविधानअनुसार राष्ट्रपति पद आलंकारिक हो । मन्त्रिपरिषद्ले गरेका निर्णयहरु अनुमोदन गर्नु, संसदले पारित गरेका कानूनमा लाहछाप लाउनु नै राष्ट्रपतिको भूमिका हो ।

संविधानले संविधानको पालना र संरक्षण गर्नु नै राष्ट्रपतिको मुख्य भूमिका भनेर स्पष्ट पारेको छ । तर पछिल्लो समय नेपालमा सबैभन्दा धेरै दलीय आकर्षण राष्ट्रपति पदमा छ । राष्ट्रपति पदमा किन यस्तो आकर्षण ?

नेपालको संविधान २०७२ अनुसार मुलुकको कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित छ ।
संविधानको धारा ७५ को उपधारा १ मा भनिएको छ,
नेपालको कार्यकारिणी अधिकार यो संविधान र कानून बमोजिम मन्त्रिपरिषदमा निहित हुनेछ ।
अनि धारा ७५ को उपधारा २ मा भनिएको छ,
यो संविधान र कानूनको अधीनमा रही नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा मन्त्रिपरिषदमा हुनेछ ।
संविधानअनुसार मुलुकको कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित छ । संविधानले भनेको मन्त्रिपरिषद प्रधानमन्त्रीको नियन्त्रणमा हुन्छ ।
संविधानको धारा ७६ अनुसार नियुक्त हुने प्रधानमन्त्री नै मुलुकको कार्यकारी प्रमुख हो ।

अब राष्ट्रपतिको अधिकारको कुरा हेरौँ,
संविधानको धारा ६१ को उपधारा २ अनुसार
राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । निजले यस संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ ।

अहिले मुलुकले प्रधानमन्त्री र मन्त्रिपरिषद, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा सातै प्रदेशका मुख्यमन्त्री र सभामुखरउपसभामुख पाइसकेको छ । तर राजकीय पदतर्फको जनचासो कत्ति पनि सेलाएको छैन । किनकी मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा सबैको ध्यान गएको छ ।

मुलुकमा गणतन्त्र स्थापनापछि भएको पहिलो राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति पद आलंकारिक हुने भनिएपछि धेरैले हल्का रुपमा लिए । त्यसअघि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र गणतन्त्र स्थापनामा भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नाम राष्ट्रपतिका रुपमा चर्चामा आयो । तर आलंकारिक पद हुने भएपछि उहाँ राष्ट्रपतिका लागि तयार हुनु भएन ।
त्यसअघि नै माओवादीले भित्ताभरि भावी राष्ट्रपतिका रुपमा प्रचार गरेका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नु भयो, राष्ट्रपति पदमा आँखा लागेन ।

२०६५ साउनमा भएको राष्ट्रपतीय निर्वाचनमा कांग्रेसले डा। रामवरण यादवलाई उम्मेदवार बनायो । मुलुकको प्रथम राष्ट्रपति बनेका यादवले संवैधानिक राष्ट्रपतिको भूमिका निर्वाह गर्नुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले सेनापति रुक्मांगत कटवालविरुद्ध गरेको कारबाहीको निर्णय उल्ट्याइदिनुभयो ।

तत्कालीन समयमा माओवादीसँग चिढिएका दलहरुका लागि त्यो निर्णय ठिक भए पनि संवैधानिक पदमा बसेका व्यक्तिले मन्त्रिपरिषदको निर्णय उल्ट्याउन नमिल्ने तर्क कानूनका जानकारहरु गर्छन् । पहिलो कदमले विवादित बनेपछि यादवले त्यसपछि दलीय प्रभावबाट टाढा रहने प्रयास गर्नुभयो ।

खैर यो पद आलंकारिक नै रहिरह्यो । २०७२ मा दोस्रो संविधानसभाले बनाएको संविधान जारी गरेर रामवरण यादव राष्ट्रपति पदबाट बिदा भएपछि तत्कालीन एमाले नेतृ विद्यादेवी भण्डारी राष्ट्रपति बन्नुभयो । त्यतिबेला एमाले र माओवादीसहितका दलको गठबन्धनले भण्डारीलाई राष्ट्रपति पदमा उठाउँदा कांग्रेसले पार्टीभित्र लो प्रोफाइलकी नेतृ कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको थियो । यसबाट पनि के बुझिन्छ भने राष्ट्रपति पदलाई त्यतिबेलासम्म आलंकारिक नै मानिएको थियो ।

तर यसपटक राष्ट्रपति पद सबैभन्दा चासोको विषय बनेको छ । नेपालभित्र मात्र होइन यो पदमा बाह्य शक्तिको समेत रुचि धेरै नै देखिएको छ ।

यस्तो हुनुमा पछिल्लो पटक राष्ट्रपतिले संवैधानिक सीमा नाघिरहनु नै मुख्य कारण हो । तत्कालीन नेकपाको सरकार हुँदा मन्त्रिपरिषद्का सिफारिस आँखा चिम्लेर अनुमोदन गरिरहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बीचमा कांग्रेस नेतृत्वको गठबन्धनमा बनेको सरकारका काममा बाधक बन्नु र शक्तिशाली बन्न खोज्नुले यो पदको आकर्षण बढेको हो ।

संविधानका केही छिद्र र सर्वोच्च पदमा बसेर गर्न सकिने बलमिच्याँले संविधान र कानून मिच्न माहिर दलहरुलाई राष्ट्रपति पद सर्वकालीन शक्तिशाली महसुस भइरहेको देखिन्छ । समानुपातिक प्रणाली र अस्थिर राजनीतिका कारण कुनै पनि एक दलको स्पष्ट बहुमत आउने नसक्ने निर्वाचन प्रणाली भएको देशमा समयसमयमा हुने राजनीतिक विवाद र संकटका बेला चलखेल गर्न राष्ट्रपति पद सबैभन्दा उपयुक्त हुने भएपछि सबैजसो दलको आँखा यही पदमा केन्द्रित भएको छ । संविधान बनाउने दलले नै आलंकारिक पदलाई अस्तित्वको विषय बनाएपछि बाह्य शक्तिहरुको आँखा पनि यसमै केन्द्रित हुनु स्वभाविक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *