Main News

घट्दो उखु उत्पादन, बढ्दै चिनीको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ ८ गते १८:०८
घट्दो उखु उत्पादन, बढ्दै चिनीको माग (भिडियो रिपोर्टसहित)

८ माघ २०७९ काठमाडौं । नेपालको मुख्य नगदेवालीका रुपमा रहेको उखु खेती पछिल्लो समय घट्दै गएको छ। बढ्दो उत्पादन लागत, जोखिमपूर्ण बजार, न्यूनप्रतिस्पर्धी क्षमता र उपयुक्त मूल्य नपाइने यसका प्रमुख कारणहरु हुन् ।

पछिल्लो पाँच वर्षमा उखुको समर्थन मूल्य प्रतिक्विन्टल ७९ रुपैयाँमात्र बढेको छ । तर यो वर्षको ६ महिनामै चिनीको मूल्य किलोको ३० रुपैयाँ बढेको छ ।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विटल ६ सय १० रुपैयाँ तोक्यो । यो मूल्य गत वर्षको तुलनामा ३० रुपैयाँ मात्र बढी हो । उत्पादन गर्दा लाग्ने ज्याला, मलखाद, बीउ–बिजन, श्रमिक र चिनीको समेत मूल्य बढेको अवस्थामा सरकारले तोकेको समर्थन मूल्यले खेत जोतेको पैसा पनि नउठ्ने भएपछि किसानहरु खुसी छैनन् ।

पछिल्लो पाँच वर्षमा सरकारले उखुको समर्थन मूल्य ७९ रुपैयाँ मात्र बढाएको छ । आर्थिक वर्ष २०७४–०७५ मा प्रतिक्विन्टल ५३१ रुपैयाँ थियो । आर्थिक वर्ष २०७५–०७६ मा त्यसलाई बढाएर ५३६ रुपैयाँ ५६ पैसा पुर्यायो । २०७६–०७७ मा गत वर्षकै मूल्यलाई यथावत राखियो ।

आर्थिक वर्ष २०७७–०७८ मा ५४४ रुपैयाँ ३३ पैसा पुर्यायो । आर्थिक वर्ष २०७८–०७९ मा भने ४६ रुपैयाँ बढाएर ५९० रुपैयाँ कायम गर्यो । जबकी चिनीको मूल्य चालू आर्थिक वर्षको ६ महिनामै प्रतिकिलो ३० रुपैयाँले महँगिएको छ । मलखादको मूल्य पनि ५० प्रतिशत भन्दा बढीले महँगिएको छ । समर्थन मूल्य बजारको अध्ययन गरेर भन्दा पनि विचौलिया पोसेर सरकारले किसानलाई मर्कामा पार्ने रणनीतिबाट प्रेरित देखिन्छ ।

सरकारको यस्तो प्रवृतिका कारण किसानहरु हरेक वर्ष यो पेशाबाट बाहिरिन बाध्य छन् । पछिल्लो तीन वर्षमा मात्रै उखु उत्पादन साढे ३ लाख टनले घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २०७५–०७६ मा ३५ लाख ५७ हजार ९३४ टन उखु उत्पादन भएको थियो । तर आर्थिक वर्ष २०७८०७९ मा ३१ लाख ८३ हजार ९४३ टनमा सिमीत भएको छ ।

मन्त्रालयका अनुसार यो तीन वर्षको अवधिमा उखुको उत्पादकत्व पनि ४९ प्रतिशतले घटेको छ । उखुको प्रचुर सम्भावना भएर पनि राज्यले प्रात्साहन नगर्दा यो अवस्था सृजना भएको हो ।

एकातिर उखु उत्पादन घटिरहेको छ भने अर्कोतिर चिनीको माग बार्षिक रुपमा बढ्दै गएको छ । नेपालमा मासिक २५ हजार मेट्रिक टन हाराहारीमा चिनी खपत हुने गरेको सरकारी तथ्यांक छ ।

नेपालको आन्तरिक उत्पादनले ५ देखि ६ महिनाको बजार माग मात्रै धान्ने गर्छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ५ महिनामा १ अर्ब ४ करोड ५४ लाख रुपैयाँको १९ हजार २४ मेट्रिक टन चिनी आयात भइसकेको छ । भारतले चिनी निर्यातमा प्रतिवन्ध लगाएपछि आयात केही घटेको हो । गत वर्षको मंसिरसम्म त ३ अर्ब ६१ करोडको चिनी आयात भएको विभागको तथ्यांक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *