उपसभामुखमा स्वतन्त्र पार्टीबाट राना र कांग्रेसबाट यादव उम्मेदवार
६ माघ २०७९ काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन प्रक्रिया शुरू हुँदैछ ।
सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । पार्टीको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्तारुढ गठबन्धनबीच उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको छ । निर्वाचन कार्यसूची अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । अपराह्न सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिने कार्यतालिका छ ।
भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निर्णयार्थ प्रस्तुत गरिने छ ।
उता नेपाली कांग्रेसले पनि उपसभामुखमा उम्मेदवार उठाउने निर्णय गरेको छ । कांग्रेसले मुक्ता यादवलाई उम्मेदवार बनाउने भएको हो ।
यसअघि हिजो सत्ता गठबन्धनबाट सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भैसक्नु भएको छ। संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने व्यवस्था छ।
प्रतिक्रिया