Main News

नारायणगढ–मुग्लिन सडक खण्ड : भित्तो काट्ने काम सकिएन

२०७९ पुष २७ गते १३:२२
नारायणगढ–मुग्लिन सडक खण्ड : भित्तो काट्ने काम सकिएन

२७ पुस २०७९ चितवन । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ ।

यही पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ ।

सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । अन्य दुई वटाको काम नसकिएपछि ठेकेदार कम्पनीले थप २१ दिनको समय माग गरेको छ । यसअघि भएको निर्णयअनुसार माघ ४ गते ३० दिन पुग्छ । पुसको ३० र माघको १ गते माघेसङ्क्रान्तिका कारण सवारी नरोकिने भएको छ । यो समयलाई थप गर्दा माघ ६ गतेसम्म सवारी बन्द हुनेछ ।

सूचना अधिकारी आचार्यका अनुसार ठेकेदार कम्पनीले माग गरेको समय दिएमा माघभरि नै सवारी आवागमन रोकिनेछ । उहाँका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ ।

तुइनको भित्तो ४५ मिटर अग्लो चट्टानी भिर रहेकाले काम गर्न कठिन भएको हो । काम गर्नका लागि बाटो बनाउन मात्रै एक हप्ता लाग्ने गरेको उहाँले बताउनुभयो । थप २१ दिन समय पाएमा त्यसपछि यदाकदा एक डेढ घण्टा रोकेर काम गर्न सकिने आचार्यले बताउनुभयो ।

आयोजनाका प्रमुख किरण कार्कीका अनुसार यी पुलहरु सँगै काम थालिएका नौवटा पुल बनिसकेका छन् । यसअघि नै सो सडकका पाँचवटा पुल बनिसकेका थिए । पाँचवटा पुल निर्माणाधीन रहेका छन् । एउटा पुलको जगमा ६ वटा घरटहरा रहेकाले राहत रकम निकासा नहुँदा काम थाल्न नपाएको कार्कीले बताउनुभयो । विश्व बैंकको सहयोगमा गरिने काममा राहत अनिवार्य दिएर मात्र अतिक्रमण गरेर बसेकालाई हटाउनुपर्ने प्रावधान रहेको छ ।

यस्तै अन्य पुल रहेका ठाउँमा २० घरटहरा रहेका छन् । ती हटाउनका लागि रु एक करोड हाराहारी राहत दिनुपर्ने हुन्छ । कार्कीले ठेकेदार कम्पनीले माग गरेको समयको विषयमा छलफल गरेर टुङ्गो लाग्ने बताउनुभयो । विसं २०७६ चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी रु एक अर्ब २५ करोडमा ठेक्का दिइएको थियो । सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्स्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौताअनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले थप समय सवारी रोक्नुपर्ने आयोजनाले माग गरेको भए पनि टुङ्गो नलागेको बताउनुभयो । स्थलगत निरीक्षण र छलफलपछि के कति समय थप गर्नुपर्ने निर्णय गरिने बताउनुभयो । सो सडकको चौडाइ नौदेखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *