Main News

कुन प्रदेशमा को बन्दैछन् सभामुख र उपसभामुख ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष २५ गते २०:४९
कुन प्रदेशमा को बन्दैछन् सभामुख र उपसभामुख ? (भिडियो रिपोर्टसहित)

२५ पुस २०७९ काठमाडौं । एमाले नेतृत्वको नयाँ सत्ता समीकरण बनेसँगै संघ र प्रदेशमा शक्ति बाँडफाँट भइसकेको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीबीच भागवण्डा मिलिसकेको छ ।

सत्ता गठबन्धनले नागरिक उन्मुक्ति पार्टीलाई सत्ता साझेदारकारुपमा राखेपनि उसले हाललाई वर्तमान समीकरणबाट बाहिरिने संकेत गरेको छ । सातै प्रदेशका मुख्यमन्त्रीदेखि सभामुख तथा उपसभामुखको भागबण्डा पनि भइसकेको छ । कुन प्रदेशमा को बन्दै छन्, मुख्यमन्त्रीदेखि सभामुख तथा उपसभामुख ?

संघमा प्रमुख सत्ता साझेदार दलबीच सहमति जुटेको छ । तर, सत्ता समर्थक भनिएको नागरिक उन्मुक्ति पार्टीले सोमबारको संसद बैठकमा विपक्षी वेञ्चमा बसेपछि उसले के गर्छ भन्ने अन्योल छ । केन्द्रमा नागरिक उन्मुक्ति मात्र होइन, माओवादी केन्द्रकै नेताहरुको पनि केन्द्रको सहमतिप्रति असन्तुष्टि छ । यीनै असन्तुष्टिकाबीच कुन प्रदेशमा को–को बन्दै छन्, मुख्यमन्त्री र सभामुख तथा उपसभामुख ?

प्रदेश– १
प्रदेश १ मा एमालेको भागमा मुख्यमन्त्री र उपसभामुख, माओवादी केन्द्रको भागमा सभामुख परेको छ । मुख्यमन्त्रीमा एमाले नेता हिक्मत कार्कीले पद तथा गोपनियताको शपथ लिइसक्नुभएको छ ।

मुख्यमन्त्री– हिक्मत कार्की, एमाले (झापा–५ (१) बाट निर्वाचित)
सभामुख – राजेन्द्र कार्की, माओवादी केन्द्र (संखुवासभा– १ (१) बाट निर्वाचित)
उपसभामुख– टुंगो लाग्न बाँकी

मधेस प्रदेश
मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच आलोपालोको सहमति जुटेको छ । यहाँ सभामुख एमालेले लिने र उपसभामुख जनमतलाई दिने शीर्ष सहमति छ । पहिलो कार्यकालमा जसपाबाट मुख्यमन्त्री बन्ने निश्चित भइसकेको छ ।

मुख्यमन्त्री– सरोजकुमार यादव, जसपा (बारा–१ (२) बाट निर्वाचित)
आलोपालोमा सहमति जुटेकाले बाँकी साढे २ वर्षपछि जनमतबाट महेशप्रसाद यादव मुख्यमन्त्री बन्नुहुनेछ । उहाँ सप्तरी–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

सभामुख– राजकुमार लेखी वा शत्रुधनप्रसाद सिंह (एमाले)
मधेस प्रदेशसभाको सभामुख एमालेको भागमा परेको छ । यहाँ सप्तरी–१ (१) बाट निर्वाचित सांसद राजकुमार लेखी र सिरहा–२ (२) बाट निर्वाचित सांसद शत्रुधनप्रसाद सिंहको नाम चर्चामा छ । सभामुखको मनोनयन दर्ता २९ गते र निर्वाचन माघ २ गतेका लागि तोकिएको छ ।

उपसभामुख– बबिताकुमारी राउत इशर, जनमत पार्टी (सप्तरीबाट समानुपातिकतर्फ प्रदेशसभा सांसद निर्वाचित)

बागमती प्रदेश
बागमती प्रदेश मुख्यमन्त्रीमा एमाले र माओवादी केन्द्रबीच आलोपालो सहमति भएको छ । यहाँबाट पहिलो कार्यकालका लागि माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेल नियुक्त भइसक्नुभएको छ । यो प्रदेशमा सभामुख राप्रपाको भागमा परेको छ भने उपसभामुख एमालेले राखेको छ ।

मुख्यमन्त्री– शालिकराम जमकट्टेल, माओवादी केन्द्र (धादिङ–१ (२) बाट निर्वाचित)
आलोपालोको सहमति अनुसार बाँकी अढाई वर्षको कार्यकाल एमालेबाट संसदीय दलका नेता जग्गनाथ थपलियाले सरकारको नेतृत्व गर्नुहुनेछ । उहाँ चितवन–१ (१) बाट प्रदेश सांसद निर्वाचित हुनुभएको हो ।

सभामुख– भुवन पाठक, राप्रपा (काठमाडौंबाट समानुपातिकतर्फ प्रदेशसभामा निर्वाचित)
बागमती प्रदेश सभामुखको २८ गते निर्वाचन गर्ने तयारी छ ।
उपसभामुख– टुंगो लाग्न बाँकी (एमाले)
उपसभामुखको निर्वाचन २९ गतेका लागि तोकिएको छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा केन्द्रीय सहमति अनुसार एमालेले मुख्यमन्त्री पाएको छ । यहाँ सभामुख माओवादी केन्द्र र उपसभामुख एमालेको भागमा परेको छ ।

मुख्यमन्त्री– खगराज अधिकारी, एमाले (कास्की–१ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित)
सभामुख– टुंगो लाग्न बाँकी (माओवादी केन्द्र)
उपसभामुख– टुंगो लाग्न बाँकी (एमाले)

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री एमालेले नै पाएको छ । यहाँ सभामुख माओवादी केन्द्रको भागमा पर्दा उपसभामुख राप्रपासँग रहन्छ ।

मुख्यमन्त्री– लिला गिरी, एमाले (रुपन्देही–२ (१) बाट निर्वाचित)
सभामुख– तुलाराम घर्ती, माओवादी केन्द्र (पाल्पा–२ (२) बाट निर्वाचित)
उपसभामुख– टुंगो लाग्न बाँकी (राप्रपा)

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री पाएको छ । सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार मुख्यमन्त्री र उपसभामुख माओवादी केन्द्र, सभामुख एमालेको भागमा परेको छ ।

मुख्यमन्त्री– राजकुमार शर्मा, माओवादी केन्द्र (रुकुम पश्चिम–१ (२) बाट निर्वाचित)
सभामुख– टुंगो लाग्न बाँकी एमाले
उपसभामुख– टुंगो लाग्न बाँकी माओवादी केन्द्र

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रबीच आलोपालोको सहमति जुटेको छ । यहाँ पहिलो कार्यकाल एमाले र बाँकी दोस्रो कार्यकाल माओवादी केन्द्रका संसदीय दलका नेता मुख्यमन्त्री बन्नेछन् । सभामुखमा यहाँ माओवादी केन्द्रले पाउँदा उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई छुट्याइएको छ । तर, उन्मुक्ति पार्टी गठबन्धनमा रहने वा नरहने टुंगो लागेको छैन ।

मुख्यमन्त्री– राजेन्द्रसिंह रावल, एमाले (कञ्चनपुरबाट समानुपातिकतर्फ निर्वाचित)
एमाले संसदीय दलका नेता रावलको अढाई वर्षको कार्यकाल सकिएपछि माओवादी केन्द्रका खगराज भट्ट बाँकी कार्यकालका लागि मुख्यमन्त्री बन्नुहुनेछ । भट्ट डडेल्धुरा–१ (१) बाट निर्वाचित हुनुभएको हो ।

सभामुख– अक्कलबहादुर रावल वा शिवसिंह ओली, माओवादी केन्द्र
माओवादी केन्द्रको भागमा परेको सभामुखमा अछाम–२ (१) बाट निर्वाचित अक्कलबहादुर रावल र डोटी–१ (२) बाट निर्वाचित शिवसिंह ओलीको दाबी रहेको छ । यहाँ पुस २९ गतेका लागि निर्वाचनको कार्यक्रम तय भएको छ ।
उपसभामुख– नागरिक उन्मुक्ति
सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन हुनेछ । यहाँ नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख दिने शीर्ष सहमित बनेपनि उसले अस्वीकार गर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *