ग्यासको प्रयोग : जनस्तरमा सचेतना बढाइँदै (भिडियो रिपोर्टसहित)
१६ पुस २०७९ बाँके । नेपाल आयल निगमका अनुसार देशभर करिब ४२ लाख ८२ हजारले खाना पकाउने एलपी ग्यासको प्रयोग गर्छन् । यो क्रम वर्षेनी १५ प्रतिशतले वृद्धि हँदै गएको निगमको तथ्यांक छ ।
यसबाहेक मासिक रूपमा करिब २३ लाख एलपी ग्यास सिलिण्डर खपत हुने गरेको छ । खाना पकाउने ग्यासको उपभोग वर्षेनी बढ्दै गएसँगै पड्किने घटना समेत बढ्दै गएको छ । त्यसैलाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले समुदाय स्तरमा सचेतना अभियान सुरु गरेको छ ।
खाना पकाउने ग्यासको उपभोग वर्षेनी बढ्दै गएसँगै पड्किने घटना समेत बढ्दै गएको छ । गत वर्ष बीरगंजस्थित सुपा ग्यास उद्योगमा आगलागी हुँदा दुई जना अग्नी नियन्त्रकको मृत्यु भयो । धादिङको गल्छीमा पुरानो एलपी ग्यास पड्किदा एक घर जलेर पूर्णरुपमा नष्ट भयो ।
पड्किने घटना निरन्तर बढेपनि ज्यान गुमाउनेको यकिन संख्या छैन । यस्ता घटनाबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायका बारेमा भने आम उपभोक्तामा चेतनाको कमी देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिका उपमहानगरभित्र त्यस्ता घटना हुन नदिन सचेतना अभियान सञ्चालन गरेको छ ।
ग्यास लिक भई आगलागी भएर हुन सक्ने जोखिमलाई कम गर्न प्राविधिक सहितको जनशक्तिलाई टोलबस्ती मै परिचालन गरिएको छ । अभियानले उपमहानगरभित्र ग्यास लिक भएमा के गर्ने र हुन नदिनेबारे समेत नागरिकलाई सचेत गराइरहेको छ ।
नागरिकस्तरमै गएर सचेतना दिँदा ग्यास लिक भए के गर्ने भन्ने विषयमा नागरिक सचेत हुन थालेका छन् ।
बिहान बेलुकै प्रयोग गरे पनि सिलिन्डर, पाइप र रेगुलेटरबारे छिन छिनमै चासो राखेमा दुर्घटना हुनबाट जोगिने जानकारको सुझाव छ ।
प्रतिक्रिया