स्थानीय तह, आफै नदीको अवैध उत्खननमा संलग्न (भिडियो रिपोर्टसहित)

२०७९ पुष ६ गते १५:३०
स्थानीय तह, आफै नदीको अवैध उत्खननमा संलग्न (भिडियो रिपोर्टसहित)

६ पुस २०७९ कञ्चनपुर । कञ्चनपुरका स्थानीय तहले मापदण्ड विपरित नदी दोहन गर्ने गरेको पाइएको छ ।

सरकारी मापदण्ड लत्याउँदै स्थानीय तह नै अवैध उत्खननमा सक्रिय हुँदा स्थानीय आक्रोशित भएका छन् ।

कञ्चनपुरमा नदी, खोला, नालाबाट ढुंगा, बालुवा र गिट्टी उत्खनन् तथा चोरी निकासी बढ्दै गएको छ । बेदकोट नगरपालिकाले पनि नियम विपरित उत्खनन् गरिरहेको छ ।

पालिकाले नियम विपरित उत्खनन् गरेको पाइए पछि अहिले नगरवासी अवैध उत्खनन् तत्कालन रोक्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाको वडा नम्बर ५ र ६ मा मनपरी नदी दोहन भएपछि स्थानीयले उत्खननमा प्रयोग भएका जेसिबी, ट्रिपर प्रहरीलाई बुझाएका छन् ।

अवैध उत्खनन मात्र नभई ठूला गाडीका कारण सडक नै बिग्रिन थालेका छन् । क्षमता भन्दा बढी सामग्री बोक्दा सडक भासिनेदेखि कालोपत्रे उप्किने गरेको नगरवासीको गुनासो छ ।

सामान्यतया पुलभन्दा ५ सय मिटर टाढा, नदी किनारबाट ५÷५ मिटर टाढा र चुरेफेदीबाट २ सय मिटर टाढाबाट मात्रै निर्माण सामग्री उत्खनन गर्न पाइन्छ । यो मापदण्डविपरीत बेदकोट नगरपालिकाले उत्खनन् गरिरहेको छ । पालिकाले नै नियम विपरित उत्खनन् गरेको पाइएपछि तत्काल कारवाही गर्नुपर्ने स्थानीयको माग छ ।

नगरपालिकाले यसरी उत्खनन् गरेको नदिजन्य बस्तुको रोयल्टि काट्ने गरेको छ । तर, रसिदमा समेत धाँदली हुने गरेको छ । ३० देखि ४० गाडीमा उत्खनन गरिएको सामग्री लैजाँदा दुई वटा ट्रिपरको मात्रै रोयल्टी उठाउने गरिएको छ । नगरपालिकाकै संलग्नता रहेको आरोप लागेपनि नगरपालिका भने आरोप मित्था भएको दावी गर्दछ ।

अवैध उत्खननको गुनासो बढ्न थालेपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको टोलीले बेलाबखत खोलामा अनुगमन गर्ने गरेका छन् । अवैध दोहनको चित्र प्रष्ट भएपनि कारवाही नभएको नगरवासीको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *