एमालेको विजय खोसिएको ओलीको आरोप, दोस्रो दल बन्दाको कमजोरी अस्वीकार (भिडियो रिपोर्टसहित)

५ पुस २०७९ काठमाडौं । नेकपा एमालेलाई ७८ सिटसहित मतदाताले दोस्रो शक्तिका रुपमा अनुमोदन गरे । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एमाले–माओवादी मिलेर बनेको नेकपाको धङधङ्गीले अझै छाड्न सकेको छैन ।
ओलीलाई अझै पनि एमाले पहिलो शक्ति नै रहेको भ्रम मात्रै छैन, आफ्नो दलको विजय खोसिएको आरोपसहित दोस्रो दल बन्दाको कमजोरी अस्वीकार गर्नुभएको छ ।
मंगलबार राजधानीको प्रज्ञा भवनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मानसहितको विशेष कार्यक्रम राखिएको थियो । जहाँ एक फ्लेकस बोर्ड र सहायक ब्यानरहरुमा नेपालको नक्साभित्र एमालेको समानुपातिक मत २८ लाख ४५ हजार ६४१ लेखिएको थियो ।
त्यसको ठिक माथि नेकपा एमाले जनताको रोजाइको पहिलो पार्टी लेखिएको थियो । र कार्यक्रममा प्रमुख वक्ता थिए अध्यक्ष केपी शर्मा ओली । तत्कालीन वाम गठबन्धन र माओवादीसँगको एकतासँगै सुविधाजनक बहुमत सरकारको नेतृत्व गरेका ओलीको शक्ति यो निर्वाचनसँगै क्षयीककरण मात्रै भएको छैन, दलीय हैसियत पनि फेरिएको छ । तर समानुपातिकतर्फ पाएको पहिलो शक्तिसहितको मतलाई ओलीले हतियार बनाउने देखिएको छ ।
हरेक भाषणमा लोकप्रिय मतको गणना गर्ने गरेका ओलीले प्रत्यक्षतर्फ ८० सिटबाट झरेर ४६ मा चित्त बुझाउनुपरेको वास्तविकतालाई चाँही धाँधली र बुथ क्याप्चरसँग जोड्ने गर्नुभएको छ । अझ आफुहरुको विजय खोसिएको ओलीको तर्क छ ।
उदाहरणका लागि काठमाडौंका दश निर्वाचन क्षेत्रमध्ये एउटामा मात्रै जितेको एमालेले अघिल्लो पटकको भन्दा पाँच सिट गुमाएको छ । तर नैतिकताका आधारमा नेतृत्व तहबाट हारको जिम्मेवारी कसैले पनि लिएका छैनन् ।
भावि नेतृत्वका रुपमा हेरिएका महासचिव शंकर पोखरेल र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसहितका पदाधिकारी नै पराजित हुँदा एमाले शीर्ष तहबाट कमजोरी स्वीकार गर्नुको साटो आयोग र गठबन्धनलाई जोडेर धाँधलीको स्वरुप मात्र भन्ने गरिएको छ ।
जनताले दिएको मतलाई सम्मान गर्दै अघि बढ्नुपर्नेमा हरेक चुनावपछि दलहरु धाँधलीको धङधङ्गिमा रुमलिनु लोकतन्त्रका लागि खराब पक्ष मानिन्छ । अब सरकार गठनको चरण चलिरहेको छ तर सरकार कस्को र कसरी बन्छ भन्नेमा पनि ओली अनभिज्ञ देखिनुहुन्छ वा बोल्न चाहनुहुन्न ।
चुनावी परिणाम अस्वीकार गरे पनि अनधिकृत ढंगबाट सरकार निर्माणमा नलाग्ने ओलीको प्रतिवद्वता चाँही सकारात्मक मान्न सकिन्छ ।
प्रतिक्रिया