एमाले सत्तामा जाने पक्षमा नरहेको अध्यक्ष ओलीको प्रष्टीकरण (भिडियो रिपोर्टसहित)

५ पुस २०७९ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा जाने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ ।
सत्तारुढ गठबन्धनले सरकार गठनका लागि अनुचित, अपवित्र र फोहोरी उद्देश्य र अभ्यास गरिरहेको भन्दै आफ्नो पार्टी त्यसको विरुद्धमा रहेको समेत अध्यक्ष ओलीले बताउनुभयो । मंगलबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी सत्तामा रहेपनि, प्रतिपक्षमा रहेपनि राष्ट्र र जनताको हितमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने समेत बताउनुभयो ।
राष्ट्रियता, लोकतन्त्र, स्वच्छता, सुशासनयुक्त कानुनी राज, आर्थिक र सामाजिक विकास, सामाजिक न्याय र समानता, शान्ति सुव्यवस्थालगायत नागरिक सम्मान एवम् राजनीतिक, सामाजिक स्थिरता र स्थायित्वको पक्षमा दृढतापूर्वक देश र जनताको सेवा गर्न आफ्नो पार्टी लागिपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।
उहाँले एमालेबाहेक अन्य दलसँग सरकार बनाएर के गर्ने भन्ने कुनै गन्तव्य नै नभएको पटकपटक दोहो¥याउनुभयो । अध्यक्ष ओली देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्नका लागि सत्तारुढ दलहरु सरकार बनाउने खेलमा लागि परेकाले त्यसमा आफ्नो पार्टी सामेल हुन नचाहेको पनि बताउनु भयो ।
अध्यक्ष ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिनुभयो । सच्चा जनप्रतिनिधिको रुपमा संसदभित्र र बाहिर पनि वैचारिक रुपमा स्पष्ट र योजनावद्ध ढंगले अघि बढन पार्टीका सांसदहरुलाई सचेत समेत गराउनुभयो ।
ओलीले पार्टीले देश र जनताको हितबाहेक अरु केही पनि नहेर्ने भएकाले पार्टीका सांसदहरुले पनि आफ्नो पार्टी र पार्टी संसदीय दलको आदेश र निर्देशलाई दृढताका साथ पालना गर्नुपर्ने तर्क समेत गर्नु भयो ।
अध्यक्ष ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन आयोगले निष्पक्ष र प्रभावकारी भूमिका खेल्ने नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । बुथ क्याप्चर भएको ठाउँमा पनि निर्वाचन नदोहो¥याएर निर्वाचन आयोगले आफ्नो कर्तव्यसमेत निर्वाह गर्न नसकेको उहाँको आरोप थियो ।
अध्यक्ष ओलीले मरेका मान्छेहरुले समेत मत हाल्दा पनि निर्वाचन आयोगले पुनः निर्वाचन गराउने काम नगरेर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको जिकीर गर्नु भयो । उहाँले आगामी दिनमा निर्वाचन आयोगका त्यस्ता गतिविधिहरुलाई रोक्नैपर्ने बताउनु भयो ।
कार्यक्रममा ओलीलाई सबैभन्दा धेरै लोकप्रिय मत ल्याएको भन्दै सम्मानसमेत गरिएको थियो ।
प्रतिक्रिया