राजनीति

सम्भव होला त एमाले कांग्रेस सरकार ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर २४ गते २०:३२
सम्भव होला त एमाले कांग्रेस सरकार ? (भिडियो रिपोर्टसहित)

२४ मंसिर २०७९ काठमाडौं । सरकार नेतृत्वको लागि तेस्रो शक्ति माओवादी केन्द्रको चलखेल जारी रहेको भनिएका बेला सानै स्वरमा भएपनि कांग्रेस र एमाले मिलेर स्थिर सरकार दिनुपर्ने आवाज उठिरहेको छ । संभव होला त यो समीकरण ? सत्ताका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिमा असंभव छ भनिहाल्नु पनि हतारो हुनेछ ।

दलहरुले स्थिर सरकारमार्फत् विकास र समृद्धि भन्दै मत मागे । चुनावले संसद पनि त दियो । तर, संसदले स्थिर सरकार दिन्छ कि दिँदैन, अनुमान गर्न गाह्रो छ । संसदीय गणित भन्छ, सरकार बनाउनै कठिन हुन्छ, बनाए टिकाउन झनै कठिन । कसरतअनुसार सत्तारुढ गठबन्धनले सुरुमा सरकार बनाउला पनि । तर, गठबन्धन ज्यूँकात्यूँ रहेर सरकार पाँचै वर्ष टिक्ला त रु अधिकांशको प्रश्न छ ।

अर्कोतिर, माओवादी केन्द्रलाई पटक्कै मन नपराउने र उ सत्ताको राजनीतिमा मात्रै केन्द्रित भो भन्ने सहरीया सम्रान्त वर्ग र बुद्धिजिवी भनिने सानो समूह राष्ट्रिय राजनीतिबाट माओवादी छिट्टै किनारा लागेको देख्न चाहान्छ । त्यसैले दुबै खेमाले माओवादी विनाको कांग्रेस–एमाले सरकारको नारा लगाइरहेको छ । जुन यथास्थितिमा संभव देखिदैन ।

एमालेले ‘हामी बाहिरै बसेर समर्थन गर्छौ, एक्लै सरकार बनाउनुस्’ भनेर निकै चर्चा गरिएको छ । तर, एमाले नेताहरु आफूहरुले त्यस्तो प्रस्ताव नगरेको जिकीर गर्छन् । कांग्रेसले पनि त्यस्तो प्रस्ताव आइनसकेको स्पष्ट पारेको छ ? आयो भने नि ? भन्दा सत्तारुढ गठबन्धनको नेतृत्वकर्ता दल, कांग्रेसका नेता गठबन्धन रहँदासम्म दायाँ–बायाँ सोच्नु नहुने र गठबन्धनमै साना दल समेटेर सरकार बनाउने बाटो नै जनादेश अनुकूल हुने बताउँछन् ।

चुनावअघि एमाले अध्यक्ष केपीले एक अन्तर्वार्तामा कांग्रेस–एमालेबीच सत्ता सहकार्य हुन सक्ने बताएका कारण पनि अहिले केहीले संभावना औंल्याएका हुन् । सरकार नेतृत्वको रस्साकस्सीमा रहेका कांग्रेस र माओवादीले एमालेलाई देखाएर आपसपमा बार्गेनिङ गरिरहेका कारण पनि कांग्रेस–एमालेको सरकार भन्ने अपरिपक्व विषय उचालिएको एमालेका नेताहरुको बुझाइ छ । यद्यपि, उनीहरु सहकार्य असंभव नै भने देख्दैनन् ।

सत्ता गठबन्धनमा हुने भागवण्डामा आफू अनुकुल नहुने अवस्था आए कांग्रेसले एमालेसँग सहकार्य गर्नै नसक्ने पनि होइन् । पाँच वर्ष सत्ताबाहिर बन्नुपर्दाको छटपटी कल्पना गरेर एमालेले पनि कांग्रेसँग फेरि कुम जोड्न सक्छ । तर, त्यसका लागि वर्तमान सत्ता गठबन्धन टुट्न अनिवार्य छ ।

कांग्रेस एमाले मिल्दा पाँच वर्ष सरकार टिक्न सक्छ । तर, प्रतिपक्ष चाहिँ निकै कमजोर हुन्छ । ठूला दुई दलको संख्यात्मक बलमा संसद निम्छरो बन्छ । उनीहरुले चाहेअनुसार संसदलाई रवरस्ट्याम्प बनाउँछन् । राज्यका अंग र निकायमा फेरि राजनीतिक भागवण्डाले प्रश्रय पाउँछ । सरकार टिक्ने नाममा राजनीतिक विकृति बढ्छ नै ।

लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सरकार बनाउनुलाई राम्रो मानिन्न । तर, नेपालमै त्यो अभ्यास नभएको चाहिँ होइन । संविधान जारी गर्ने र त्यसपछि सरकारको नेतृत्व पाउने सर्तमा एमालेले २०७० माघ २७ गते कांग्रेसका तत्कालिन सभापति शुसील कोइरालाको नेतृत्वमा बनेको सरकारमा हिस्सेदारी लिएको थियो ।

राजनीतिमा असम्भव भन्ने हुन्न् । चुनावमा एक अर्कालाई सिध्याउन अलग–अलग गठबन्धनको नेतृत्व गरेका यी दुई दलबीच सत्ता साझेदारीका लागि घाँटी जोडियो भने आश्चर्य चाहिँ हुँदैन् । किनकी, दुबैका लागि सत्ता राजनीतिको मुख्य केन्द्र हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *