Main News

भारतको सधैको ज्यादती आखिर कहिलेसम्म ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर १९ गते २१:१२
भारतको सधैको ज्यादती आखिर कहिलेसम्म ? (भिडियो रिपोर्टसहित)

१० मंसिर २०७९ दार्चुला । महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले एक वर्षदेखि एक किलोमिटर लम्बाई र आठ मिटर चौडाईमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । जसप्रति दार्चुलाबासीको चित्त बुझेको छैन । त्यसैले उनीहरु बेला–बेलामा विरोध गर्छन । र, विरोधले निम्त्याउँछ विवाद ।

आइतबार पनि खलंगाबासीले नेपाललाई जोखिम हुने गरी एकतर्फीरुपमा भारतले तटबन्ध निर्माण गरेकाप्रति विरोध गरे । जवाफमा भारतीय नागरिकले ढुंगामुढा वर्षाए । चार जना नेपाली घाइते भए ।

भारतीयको ज्यादतीविरुद्ध स्थानीयले नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने झोलुङ्गे पूल बन्द गरिदिए । प्रतिउत्तरमा भारतीय पक्षले पनि सोमबार बिहान दुई घण्टा पूल बन्द गरिदियो । आवत–जावत ठप्प भयो ।

भारतले दुई घण्टापछि पूलमा ओहोर–दोहोर खोलिदियो । सीमा क्षेत्रमा तनाव भएपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी समकक्षीसँगको छलफलका लागि धार्चुला गएका थिए ।

छलफल सहमतिमा पुगेका कारण सोमबार बिहान दुबै देशका स्थानीय प्रशासनको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको थियो । नेपालसँग समन्वय गरेर महाकालीको धार परिवर्तन नहुने गरी तटबन्ध बनाउन भारत सहमत भएको नेपालको स्थानीय प्रशासनले जनाएको छ ।

२०७० असार २ गते महाकालीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगा बजार डुबाएको थियो । सोही बाढीले महाकालीको धार नेपालतर्फ धकेल्दा नेपाली भूभाग नदीपारि पुगेको थियो । र, अहिले भारतले नदीपारी पुगेको नेपालको भू–भागमा तटबन्ध उठाएर सडक बनाउन लागेको हो ।

यसले नदीको सिमाना मात्र मिचिएको छैन, महाकाली अब नेपालतर्फको भूभागबाट मात्र बग्ने हुँदा खलंगा बजार र आसपास क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ । त्यसैको विरोधमा खलंगा क्षेत्रका बासिन्दा पटक–पटक आन्दोलित हुँदै आएका छन् ।

२०७८ फागुन २४ मा भारतीय निर्माण कम्पनीले नदीभित्रै एक्स्काभेटर लगेर खन्न थालेपछि नेपालतर्फबाट विरोध सुरु भएको थियो । त्यतिबेला पनि दुवैतर्फ ढुंगा हानाहान भएको थियो ।

प्रतिक्रिया

One thought on “भारतको सधैको ज्यादती आखिर कहिलेसम्म ? (भिडियो रिपोर्टसहित)

  1. त्यहाको स्थानिय सरकार प्रदेश सरकार केन्द्र सरकार तीन तहको सरकार के का लागि ??यदि सिमामा थिचोमिचो हुन्छ भने।

Leave a Reply to saroj phuyal Cancel reply

Your email address will not be published. Required fields are marked *