राजनीति

सत्ता गठबन्धन पुरानै शैलीमा, मतदाताले दिएको सन्देशलाई नजरअन्दाज (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर १९ गते २१:०७
सत्ता गठबन्धन पुरानै शैलीमा, मतदाताले दिएको सन्देशलाई नजरअन्दाज (भिडियो रिपोर्टसहित)

१० मंसिर २०७९ काठमाडौं । प्रमुख दलका सत्ताको छिनाझपटीबाट दिक्क बनेका मतदाताको भावना विपरित दलहरु फेरि पुरानै शैलीको निरन्तरतामा देखिएका छन् ।

आफ्नै शैलीमा पुनरावलोकन गर्न मतदाताले दिएको सन्देशलाई दलका नेताहरुले हल्कारुपमा लिएको देखिन्छ । अहिले कांग्रेसले सत्ताको नेतृत्व गर्ने कि माओवादी केन्द्रले गर्नेभन्नेमा मतभेद बढेको छ । कांग्रेस ठूलो दलको हैसियतमा आफ्नो नेतृत्व हुनुपर्ने अडानमा रहँदा निर्वाचनबाट कमजोर बनेको माओवादी केन्द्र अबको प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल नै हुनुपर्ने दाबी गर्छ ।

निर्वाचनको अन्तिम नतिजा करिब–करिब आइसक्दा अबको सत्ता समीकरण कस्तो होला रु चासो सुरु भएको छ । निर्वाचनबाट ठूलो दल बनेको गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको दाबी गरेको छ । कांग्रेसमा सरकारको नेतृत्व गर्ने चाहना राख्ने मात्र पनि पाँच नेता निस्किएका छन् । तर, निर्वाचनबाट खुम्चिएको अर्को घटक माओवादी केन्द्रले पनि प्रधानमन्त्रीको चाहना राखेको छ । निर्वाचन अघि कांग्रेसलाई नेतृत्व गर्न दिएकाले अबको पहिलो नेतृत्व आफूले पाउनुपर्ने भन्दै माओवादी केन्द्रले दाबी राखेको छ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नबन्ने अवस्थामा यही गठबन्धनलाई निरन्तरता दिने कि नदिने भन्ने माओवादी केन्द्रको घुमाउरो चेतावनी छ ।

माओवादी केन्द्र मात्र होइन, समानुपातिकमा ‘थ्रेस होल्ड’ कटाउन नसकेको एकीकृत समाजवादी पनि प्याकेजमै सहमति हुनुपर्ने र पाँच वर्षको कार्यकालमा माधवकुमार नेपाललाई एक वर्षका लागि भएपनि प्रधानमन्त्री बनाउने दाउमा देखिएको छ । तर, उसको यो दाबीमा कांग्रेस र माओवादी केन्द्र मान्लान भन्ने अवस्था छैन । सत्ताको छिनाझपटी सुरु भएसँगै गठबन्धनले पुनः छलफल र बैठकलाई तीव्रता दिन थालेको छ ।

गठबन्धनमा रहेका दलको अवस्था–
दल प्रत्यक्षतर्फ समानुपातिकतर्फ (सम्भावित) कुल

कांग्रेस– ५७ ३२ ८९
माओवादी केन्द्र– १८ १४ ३२
एकीकृत समाजवादी– १० ०० १०
राष्ट्रिय जनमोर्चा– १ ०० १
लोकतान्त्रिक समाजवादी पार्टी– ४ ०० ४

नयाँ सरकार गठनमा सत्ता गठबन्धनलाई समर्थनको घोषणा गरेको जनमत पार्टीसँग प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ सम्भावित ५ रहँदा कुल ६ सिट रहन्छ । यसो हुँदा गठबन्धनसँग १ सय ४२ सिट हुन आउँछ । सरकार गठनका लागि १ सय ३८ सिट आवश्यक पर्छ ।

अब माओवादी केन्द्र बाहिरिने अवस्था आउँदा कांग्रेससँग २८ सिट कम हुन आउँछ । त्योपूर्तिका लागि राप्रपाको १४ र जसपाको १२ सिटले मात्र पुग्दैन । थप दुई सिट खोज्नुपर्छ । स्वतन्त्रबाट जितेका ३ जनालाई सरकारमा ल्याउँदा वा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत विश्वासमा लिन सके माओवादी बाहेकको सरकार बन्न सक्छ । यसैलाई देखाउँदै कांग्रेस माओवादी केन्द्रसँग वार्गेनिङमा रहेको छ ।

माओवादी केन्द्रले एमालेसँग सहकार्य गर्ने अवस्थामा कस्तो बन्छ, समीकरण ?

एमालेसँग प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ सम्भावित ३३ सिट रहन्छ । कुल ७७ सिट रहेको एमालेले माओवादी केन्द्रको ३२ सँगै एकीकृत समाजवादीको १०, राप्रपाको १४ र जसपाको १२ सिट मात्र लिन सके एमालेको सरकारको सम्भावना पनि रहन्छ ।

तर, एकीकृत समाजवादी नजाने र जसपाका अध्यक्ष उपेन्द्र यादवले भनेझैं एमालेसँगको सहकार्य नहुने अवस्थामा एमालेका लागि थप २२ सिट आवश्यक पर्छ । यो समीकरण बन्न कठिन हुन जान्छ । यो कुरा बुझेको माओवादी केन्द्र कांग्रेससँगै वार्गेनिङ गर्ने पक्षमा उभिएको छ । कांग्रेस र माओवादकिो आआफ्नै दाउमा पावर सेयरिङमा कुरा मिलेर गठबन्धन कायम हुन्छ वा नयाँ गठबन्धन निर्माण हुन्छ ? त्यसका लागि केही समय पर्खनैपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्