राजनीति

स्याङ्जा- २ मा कांग्रेसले बुथ क्याप्चर गरेको आरोप पुष्टि हुने यी हुन् आधार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर १८ गते २०:५९
स्याङ्जा- २ मा कांग्रेसले बुथ क्याप्चर गरेको आरोप पुष्टि हुने यी हुन् आधार (भिडियो रिपोर्टसहित)

१८ मंसिर २०७९ काठमाडौं । यसपटकको निर्वाचनमा सबैभन्दा बढी विवाद र आलोचनाको केन्द्रमा स्याङ्जा क्षेत्र नम्बर २ रह्यो । कांग्रेसबाट उपसभापति धनराज गुरुङ र एमालेबाट सचिव पद्मा अर्यालको मुख्य प्रतिष्पर्धा देखिएको यहाँ मृत्यु भएका र विदेशिएकाले समेत मत खसालेको आरोप लाग्यो ।

निर्वाचन आयोगले मत गणना मै जाने निर्णय गरेपछि पुनः मतदानको माग गर्दै आएको एमाले पनि तयार बन्यो । केही आधारहरु हेर्दा स्याङ्जा २ का केही बुथको मतगणना निकै रोचक र एमालेले लगाएको आरोपलाई पुष्टि गर्ने खालको देखिएको छ ।

मुख्यतः एमालेले कांग्रेसले मृतक र विदेशिएकाको नाममा मत हालेको आरोप लगायो । तर, मतदानलाइ निर्वाचन आयोगले समेत बैद्यता दिंदै कांग्रेसका गुरुङ निर्वाचित बन्नुभयो । कांग्रेसले बुथ कब्जा गरेकोभन्दै एमालेले मागेको पुनः मतगणनाको माग स्याङ्जाको चापाकोट वडा नम्बर ३, ४ र ५ रहेका थिए । वडा नम्बर ३ को बुथको मतगणनाले एमालेको आरोपलाई पुष्टि गर्न खोजेको देखिन्छ ।

यो वडाको मतगणना सकिंदा कांग्रेसका गुरुङको पक्षमा १ हजार ४ सय २६ मत आउँदा एमालेकी अर्यालले १ सय ३ मत मात्र पाउनुभयो । उहाँहरुबीचको मतान्तर १ हजार ३ सय २३ रहेको थियो । उहाँहरुको मतमात्र होइन, प्रदेशसभा सदस्यका प्रतिष्पर्धीहरुको मत पनि समान रह्यो । यो वडाबाट स्याङ्जा २ (२) मा कांग्रेसका महेश भट्टराईले गुरुङकै जति १ हजार ४ सय २६ मत नै पाउनुभएको थियो ।

यहाँ पनि भट्टराईका प्रतिष्पर्धी एमालेका बुद्धिमान श्रेष्ठको मत अर्यालकै जति १ सय ३ नै आयो । उहाँहरुबीचको मतान्तर पनि १ हजार ३ सय २३ नै थियो । अर्थात यहाँ एक–दुई मत पनि फरक परेन । एउटै दलका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको मत एउटै आउनु आफैंमा आश्चार्य हो ।

केही मत तल माथि हुनुपर्ने थियो, तर भएन । योबाहेक पनि चापाकोट–३ दिसिङकोट आधारभूत विद्यालय, कमेरे मतदानस्थलमा १ हजार ६ सय ४१ मतदाता रहेकामा १ हजार ५ सय ६१ मत खसेको थियो । तर, यहाँ ८० जनाले मात्र मत खसाएनन् । अर्थात, ९८ प्रतिशत मत खसेको देखिन्छ । के त्यो सम्भव छ रु त्यस्तै राम मन्दिर मावि दार्सिङमा पनि १ हजार ६ सय ४१ नै मतदाता रहेका छन ।

यहाँ पनि २८ जनाले मात्र मतदान गरेनन्, यहाँ पनि ९८ प्रतिशत मत खसेको देखिन्छ । यही वडाको जनसक्रिय आधारभूत विद्यालय मतदान केन्द्रमा पनि ९० प्रतिशत मत खसेको छ । ९ सय ११ मतदाता रहेको यो मतदानकेन्द्रमा ८ सय ९२ मत खसेको छ । चापाकोट वडा नम्बर ४ मा पनि धेरै मतान्तर छ । यहाँ गुरुङको पक्षमा १ हजार ३ सय ७९ र अर्यालको पक्षमा १ सय ८८ मत मात्र रहेको छ । यी बाहेक वडा नम्बर ५ का विभिन्न मतदान केन्द्रलाई कब्जा गरिएको एमालेको आरोप छ ।

तर, कांग्रेस कार्यकर्ता भने स्थानीय तहको मतलाई हेर्न सुझाव दिन्छन् । स्थानीय तह र अहिले आएको मतमा भिन्नता नभएको दाबी गर्छन ।

तर, संघीय सांसदको पक्षमा आएको मत र मतान्तर तथा प्रदेश सांसदले पाएको मत र मतान्तरमा एक–दुई मत पनि तलमाथि नहुनुले स्याङ्जा २ मा एमालेले लगाएको आरोप तथ्य नजिक छ । त्यसबाहेक देशभर ६१ प्रतिशत मात्र मत खस्दा यहाँ ९० देखि ९८ प्रतिशतसम्म मत खस्नु अस्वभाविक देखिन्छ ।

त्यसो हुँदा पनि निर्वाचन आयोगले पुनः मतदानको सट्टा किन गणनै हुनुपर्ने निर्देशन दियो त रु प्रश्न आयोगतर्फ पनि सोझिएको छ । अन्तिममा एमाले पनि मत गणनामा किन तयार बन्यो ? त्यसले पनि धेरै शंका–उपशंका उत्पन्न गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्