राजनीति

मतपरिणाम नआउँदै एकीकृत समाजवादीमा यस्तो विवाद (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर १८ गते १६:२१
मतपरिणाम नआउँदै एकीकृत समाजवादीमा यस्तो विवाद (भिडियो रिपोर्टसहित)

१८ मंसिर २०७९ काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आउँदै गर्दा नेकपा एकीकृत समाजवादीभित्र विवाद चर्किन थालेको छ ।

निर्वाचनमा प्रत्यक्षतर्फ १० सिटमा जित हासिल गरे पनि समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन नसक्ने दिशातर्फ उन्मुख रहेको नेकपा एकीकृत समाजवादीमा पार्टीको अस्तित्व रक्षाको विषयलाई लिएर विवाद बढ्दै गएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो निर्वाचनबाटै समाजवादी पार्टी पतन हुने भविस्यवाणी गर्नुभएको थियो । राष्ट्रिय रुपमा दलको हैसियत हेर्ने हो भने समानुपातिकबाट थ्रेस होल्ड कटाउन नसक्दा यो पार्टी अब पतनकै बाटोमा जान्छ कि भन्ने अनुमान राजनीतिमा चासो राख्ने अरु व्यक्तिहरुले पनि गर्न थालेका छन् ।

निर्वाचनमा सोचेअनुसारको परिणाम नआएपछि एकीकृत समाजवादीका नेताहरु माओवादीसँग एकता प्रक्रिया अगाडि बढाउने पूर्वनिर्धारित छलफलमा जुटिसकेका छन् । तर पार्टीमा तेस्रो बरियतामा रहेका नेता मुकुन्द न्यौपानेले माओवादीसँग एकीकरण वा सामान्य अर्थमा विलयको बाटोमा लाग्नेगरी नेतृत्वले चालेको कदमविरुद्ध फायर खोलीसक्नु भएको छ ।

नेकपा एमालेमा आफ्नो घट्दो प्रभाव राम्रैसँग अन्दाज गरेका न्यौपाने एकीकृत समाजवादीतिर पनि सम्मानजनक अवस्थामा नहुँदा उहाँलाई पुनः एमालेको माया लागेको देखिन्छ । त्यसैले उहाँले सार्वजनिक रुपमै नेकपा एकीकृत पार्टी माओवादीसँग एकीकरण गरेर जाने हो भने त्यसमा एमाले पनि सँगै हुनुपर्छ भन्ने तर्क गर्नुभएको छ ।

नेता न्यौपानेको अभिव्यक्ति र निर्वाचन परिणामले सन्तुष्ट हुन नसकेका कार्यकर्ताको मन बहलाउन महासचिव बेदुराम भुसालले माओवादीसँग एकीकरणको गुञ्जायस नै नभएको दाबी–पत्र सञ्चारमाध्यममा पठाए पनि यो पत्रले बलेको आगोमा घ्यू थप्ने काम मात्र गरेको छ ।

महासचिव भुसालको विज्ञप्ति सार्वजनिक भएलगत्तै नेता न्यौपानले एकीकृरणका लागि भएको पूर्वसहमतिको निर्णय नै सार्वजनिक गरिदिनुभएको छ । उता हरेक निर्वाचनमा खिईँदै गएको माओवादी पनि विभिन्न शक्तिहरुसँग एकता गरेर पार्टीलाई अलि मोटो बनाउने तयारीमै जुटेको छ । यस्तो अवस्था एकीकृत समाजवादीका महासचिवले विज्ञप्ति नै जारी गरेर एकताको सम्भावना नरहेको बताएपछि माओवादीको प्रतिक्रिया के छ त ?

नेकपा एमाले अहिले तत्कालै कुनै वाम मोर्चा बनाउने वा वाम पार्टीहरु खेडेर कम्युनिष्ट केन्द्र बनाउने अभियानमा छैन । निर्वाचनअघि देखि नै उसले अपनाएको तरिका जतिसक्दो धेरै पार्टी प्रवेश गराउने नै हो । उसको यस्तो अभियान चलिरहेका बेला एकीकृत समाजवादीका नेता न्यौपाने किन एमालेसहितको एकताको सपना देखिरहनु भएको छ रु यो विषय रहस्यपूर्ण छ । पार्टीभित्रको असन्तुष्टिपछि नेताहरु एकीकरणको विषय ढाकछोप गर्न लागिपरेका छन् ।

यो निर्वाचनको परिणामले पुराना पार्टीहरु यसै पनि झस्किएका छन् । त्यसबाहेक एमालेबाट चोइटिएर देखाइदिन्छौँ भनेर लागेको एकीकृत समाजवादी गठबन्धनबिना चुनाव लडेको भए ओलीकै शब्दअनुसार पत्तासाफ हुने अवस्था आउँदो रहेछ भन्ने अनुमान गर्न गाह्रो छैन ।

यस्तो अवस्थामा एमालेसँग मिल्नुपर्छ र पूर्ववत् शक्तिशाली हुनुपर्छ भन्ने न्यौपाने लगायतका नेताहरुको लाइन स्वभाविक सुनिन्छ । तर संसद विघटनदेखि नै एमाले अध्यक्ष ओलीसँग मुख बाराबार गरेका माधव नेपाललाई यो कुरा पाच्य हुन सक्ने देखिन्न । जसका कारण एमालेसँग एकीकृरणको सम्भावना पनि कमजोर र माओवादीसँग पनि एकीकरणको योजना पनि बिथोलिने परिस्थिति आए नेकपा एकीकृत समाजवादीको राजनीतिक अस्तित्व संकटापन्न अवस्थामा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्