स्याङ्जा र बाजुरामा मतगणना गर्न आयोगले दियो निर्देशन

१४ मंसिर २०७९ काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना गर्ने निर्णय गरेको छ ।
यी क्षेत्रमा मंसिर ४ गते भएको निर्वाचनमा धाँदली भएको भन्दै पुनः मतदानको माग भइरहेकोमा आयोगले पुनः मतदान नगर्ने भन्दै मतगणनाको निर्णय गरेको हो ।
आज बसेको आयोगको बैठकले मतगणना थाल्न सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशनसमेत दिएको छ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने भनेर सर्वसम्मत निर्णय भएको जानकारी दिनुभयो ।
नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको छैन ।
यही मङ्सिर ४ गते भएको निर्वाचनमा ती दुई क्षेत्रको मतदान गणना अघि बढ्न सकेको थिएन । त्यहाँ पुनः मतदानमा नजाने निर्णयसँगै अब मतगणना प्रक्रिया सुरु हुने आयोगले जनाएको छ ।
प्रतिक्रिया