राजनीति

मधेसमै कमजोर भए मधेशवादी भनिएका दल, के हो कारण ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर १० गते २१:२५
मधेसमै कमजोर भए मधेशवादी भनिएका दल, के हो कारण ? (भिडियो रिपोर्टसहित)

१० मंसिर २०७९ काठमाडौं । मधेस आन्दोलनबाट उदाएका दल यसपटक मधेसमा आफ्नो जनमत मात्र होइन साख जोगाउनसमेत असफल भएका छन् ।

कतिपय क्षेत्रमा मधेस आन्दोलनका नेतृत्वकर्ता नै पराजित भइसकेका छन् भने उनीहरुका पार्टीका अधिकांश उम्मेदवारलाई प्राप्त मत पनि निकै कमजोर देखिन्छ । मधेस केन्द्रित राजनीति गरेका दल नै किन मधेसबाट अस्वीकृत भए त ?

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमले राष्ट्रिय जनता पार्टी राजपाको समर्थनमा प्रदेश २ अर्थात् मधेस प्रदेशमा सरकार गठन गरेको थियो । फोरमलाई प्रत्यक्ष तथा समानुपातिकतर्फबाट २९ सिट प्राप्त हुँदा राजपाले २५ सिट ल्याएको थियो । यो प्रदेशमा एमालेले २१ सिट जित्दा नेपाली कांग्रेसले १९ तथा नेपाल संघीय समाजवादी र स्वतन्त्रले एक–एक सिट पाएका थिए ।

तत्कालीन समाजवादी फोरम अहिले जनता समाजवादी फोरम जसपाका रुपमा छ भने तत्कालीन राजपा अहिले लोकतान्त्रिक समाजवादी पार्टीका रुपमा छ । यसपटकको निर्वाचनमा समानुपातिकतर्फको अन्तिम नतिजा आइनसक्दा प्रत्यक्षमा यी दुवै पार्टीको नतिजा निकै नै खस्किएको छ । १ सय ७ सदस्यीय मधेस प्रदेशसभामा अहिलेसम्म प्राप्त परिणामलाई हेर्ने हो भने एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र मधेसमै केन्द्रित भनिएका जसपा र लोसपा तेस्रो र चौथो स्थानमा छन् ।

समानुपातिकतर्फ प्राप्त भइरहेको मत विवरण हेर्ने हो भने कांग्रेस शीर्ष स्थानमा र एमाले दोस्रो स्थानमा रहन सक्ने देखिन्छ तर जसपा र लोसपाको अवस्था भने तेस्रो र चौथोबाट माथि उक्लिने सम्भावना देखिँदैन । बरु यसपटक यो प्रदेशमा स्वतन्त्र उम्मेदवार र जनमत पार्टीलाई प्राप्त भइरहेको मत सरकार गठनका लागि निर्णायक बन्न सक्ने देखिन्छ ।

प्राप्त मत परिणामअनुसार मधेसमा कांग्रेस वा एमालेले कृपा गरेर दिने बाहेकको परिस्थितिमा मधेसमा मधेसवादी भनिएका दलहरुको सरकार बन्ने सम्भावना क्षिण छ । हालसम्म प्राप्त नतिजाअनुसार मधेस प्रदेशका ६४ प्रत्यक्षतर्फका सिटतर्फ कांग्रेसले १२, एमालेले १२, जसपाले ८, लोसपाले ७ तथा जनमत पार्टीले ८ सिट जितेको छ ।

यस्तै माओवादी र एकीकृत समाजवादी पार्टीले ४–४ सिट जितेका छन् । यो परिणामलाई हेर्ने हो भने मधेसमा लोसपासहितको कांग्रेस नेतृत्वको गठबन्धनलाई २७ सिट प्राप्त भएको छ ।

जबकी जसपासहितको एमाले नेतृत्वको गठबन्धनलाई २० सिट मात्र प्राप्त भएको छ । समानुपातिकतर्फ एमाले नेतृत्वको गठबन्धनलाई साढे दुई लाखको हाराहारीमा मत आउँदा कांग्रेस नेतृत्वको गठबन्धनको मत दोब्बर बराबर छ । यो मतको आधारमा अब मधेसकै दलले मधेसमै सरकार बनाउन नसकिने प्रष्ट भइसकेको देखिन्छ ।

२०६२–६३ को जनआन्दोलनलगत्तै मधेसमा आन्दोलन गरेर आफ्नो बलियो उपस्थिति बनाएका यी पार्टी आन्तरिक विवाद र टुटफुटका कारण १५ वर्षको अवधिमै पलायनतर्फ उन्मुख भएका छन् । संघीयता र मधेस अधिकारका लागि भन्दै गरिएको आन्दोलनमा नागरिकबाट प्राप्त समर्थनलाई जोगाउन नसक्दा २०७० को दोस्रो संविधानसभामै यी पार्टीको ओरालो यात्रा सुरु भएको थियो भने त्यसपछिका दुईवटा निर्वाचनमा थप कमजोर हुँदै आए ।

यसपटकको निर्वाचनले मधेस आन्दोलनको नेतृत्व गरेका उपेन्द्र यादव र राजेन्द महतोलाई अस्वीकृत नै गरिदिएको छ ।
प्रदेश संरचना र प्रदेशलाई अधिकार प्रत्यायोजनमा असहमति राख्दै २०७२ को संविधान अस्वीकार गरेका यी पार्टी आफ्नो अडानमा बसिरहन सकेनन् । संविधान संशोधनको रटान लगाइरहने र सरकार निर्माणको खेलमा निर्णायक भइरहने कुराले मधेस केन्द्रित भनिएका दलहरुको धरातल कमजोर बन्दै गयो ।

मधेस आन्दोलनमा एक भएका यी पार्टी संविधान संशोधनको माग गर्दै २०७२ सालमा पनि लामै समय आन्दोलित बने । देशले नाकाबन्दी नै खेपेको यो आन्दोलनका सहयात्रीहरु आफैमा भने कहिल्यै पनि एक ढिक्का रहन सकेनन् । कुनै स्वार्थमा जुटिहाल्ने र कुनै स्वार्थ पूरा नहुँदा फुटिहाल्ने प्रवृत्तिका कारण उनीहरुको छबि र नियतमाथि नै मधेसमा बहस हुन थाल्यो । यसपटकको निर्वाचनमा जनमत पार्टीको उदय र कांग्रेस तथा एमालेको पुनरागमन यीनै मधेसवादी भनिएको दलहरुको विचलित चरित्रको उपज हुन पुग्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्