Main News

संसदीय यात्राको पहिलो खुड्किलो पार गर्दै मन्त्री चौधरी

२०७९ मंसिर ९ गते ८:४८
संसदीय यात्राको पहिलो खुड्किलो पार गर्दै मन्त्री चौधरी

९ मंसिर २०७९ काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले दोस्रोपटक सांसद निर्वाचित भई संसदीय यात्राको पहिलो खुड्किलो पार गर्नुभएको छ ।

विसं २०७४ को निर्वाचनमा दाङ क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट सांसद निर्वाचित हुनुभएका चौधरी २०७८ सालमा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको थियो । समाजवादीमा प्रवेश गरेपछि भने उहाँ पहिलोपटक सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनी विजयी हुनुभएको हो ।

विसं २०२९ चैत १० गते दाङको गठवामा भगवतीप्रसाद र थिवरात्री चौधरीको सुपुत्रका रुपमा जन्मनुभएका उहाँले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । राजनीतिसँगै हाल उहाँ विद्यावारिधि अध्ययनरतसमेत हुनुहुन्छ ।

विसं २०४५ मा नेकपा मालेको सदस्यता लिएर उहाँले राजनीति सुरु गर्नुभएको हो । विसं २०४६ मा उहाँले अनेरास्ववियु छैटौँको सदस्यता लिनुभयो । चौधरी २०४७ सालमा एमाले प्रवेश गर्नुभयो । विसं २०४८ मा चौधरीले अनेरास्ववियुको क्याम्पस प्रारम्भिक कमिटीमा बसेर काम गर्नुभयो । उहाँ २०७५ सालमा एमाले र माओवादी एकता केन्द्र भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य बन्नुभयो । चौधरीले नेकपाको दाङ जिल्लाको सहइञ्चार्ज भएर पनि काम गर्नुभयो ।

विसं २०७४ मा सांसदमा निर्वाचित भएपछि उहाँले संसद्का अर्थ समितिमा बसेर पनि काम गर्नुभयो । विकास र अर्थतन्त्रमा विशेष रुची राख्नुहुने मन्त्री चौधरी २०५९ सालमा भएको प्रतिगमनविरुद्धको आन्दोलनका क्रममा तीन महिना जेल बस्नुभएको थियो । सांसद चौधरी आफूलाई समानताको पक्षधर तथा सामाजिक सद्भाव र एकताको पक्षधरका रुपमा परिचित गराउन चाहनुहुन्छ ।

पिछडिएको क्षेत्र, जात र समुदायको पक्षमा उहाँले निरन्तर वकालत गदै आउनुभएको छ । अधिकार र पहिचानका लागि हुने आन्दोलनमा मन्त्री चौधरीको नेतृत्वदायी भूमिका रहँदै आएको छ । तीन दशक लामो राजनीतिक यात्राका क्रममा उहाँले दोस्रोपटक सांसद हुने अवसर पाउनुभएको हो ।

एमालेकी शान्ता चौधरीलाई पाँच हजार मतान्तरले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । मन्त्री चौधरीले २६ हजार पाँच सय ६३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी शान्ताले २१ हजार चार सय ७९ मत पाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *