राजनीति

ठूला पार्टीका महासचिवदेखि शीर्ष तहका नेता, जसलाई जनताले पत्याएनन् (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर ८ गते २१:०६
ठूला पार्टीका महासचिवदेखि शीर्ष तहका नेता, जसलाई जनताले पत्याएनन् (भिडियो रिपोर्टसहित)

८ मंसिर २०७९ काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणाम आउन थालेको तेस्रो दिन आज केही चर्चित हस्तीहरु पराजित भएका छन् ।

नेपालका दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका महासचिवदेखि कांग्रेसका चर्चित हस्तीसम्मले यो चुनाव हारेका छन् । हेरौं तेस्रो दिन पराजित केही हस्तीबारे तयार पारिएको यो सामग्री ।

यो निर्वाचनमा अप्रत्यासित नतिजा आउने क्रम जारी छ । कतै नयाँ अनुहार त कतै नयाँ दलका कारण नतिजा अदलबदल भएका छन् । हेरौं परिणाम सार्वजनिक हुनथालेको तेस्रो दिन पराजित हस्तीका अनुहार

शंकर पोखरेल
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीकै जोडबलमा महासचिव बनाइएका शंकर पोखरेललाई आजनीतिक यात्रामा धक्का लागेको छ । दाङ–२ मा माओवादी केन्द्रकी रेखा शर्मासँग १९७ को झिनो मतान्तरमा पराजित पोखरेल एमाले–माओवादी एकताको आलोचनामा कडा मत राख्ने वरिष्ठ नेता ईश्वर पोखरेलकै लाइनमा उभिएका नेता हुनुहुन्छ । सिद्धान्तको अधिक व्याख्या गर्ने तर कार्यकर्ताबीच घुलमिल हुन नसक्ने नेताका रुपमा पोखरेलको बलोचना हुने गरेको थियो । पोखरेलको पराजयले एमालेमा सन्नटा छाएको छ ।

सुरेन्द्र पाण्डे
नेकपा एमालेबाट पराजित हुने शीर्ष नेतामध्ये उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि एक हुनुहुन्छ । पाण्डे चितवन(१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग ७ हजार ५ सय ८१ मतान्तरले पराजित हुनु भएको हो । पार्टीभित्र भएको विद्रोहपछि १० बुँदे सहमति मार्फत एमालेमै बसेका पूर्वअर्थमन्त्री पाण्डे एमालेभित्र राम्रो छवि भएका र अर्थ शास्त्र बुझेका नेताका रुपमा चिनिनुहुन्थ्यो ।

देवप्रसाद गुरुङ
नेकपा माओवादीभित्र वाम एकताको पक्षधर नेताका रुपमा परिचित गुरुङ एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङसँग ३ हजार १८८ मत अन्तरले पराजित हुनुभएको छ । गुरुङद्वय एक आपसमा चुनाव लड्ने पक्षमा थिएनन् । लमजुङमा दुई नेताबीच अनिच्छाको लडाईं जितेका पृथ्वीसुब्बालाई देव गुरुङले वाम एकताको पहल गर्न भन्दै शुभकामना दिनुभएको छ ।

विशाल भट्टराई
एमालेभित्र इमान्दार नेताको छवि बनाएका भट्टराई सत्ता गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार रामकुमार राई ‘पासाङ’सँग २ हजार ६६९ मतान्तरले पराजित हुनुभएको छ । यो हारलाई एमाले कार्यकर्ताले अप्रत्यासित भनेका छन् ।

लेखराज भट्ट
नेकपा एमालेका सचिव लेखराज भट्टको हारलाई पनि अप्रत्यासित हारका रुपमा हेरिएको छ । कैलाली ४ मा कांग्रेस नेता वीरबहादुर बलायरसँग तीन हजार ५८४ मतान्तरले भट्ट पराजित हुनुभएको हो । नेकपाको विभाजनपछि एमालेमा रहनुभएका भट्ट एमालेबाट पराजित शीर्ष तह मध्येका एक हुनुहुन्छ ।

गणेशसिंह ठगुन्ना
एमालेबाट पराजित हुने शीर्ष तहका नेतामध्येमा पर्नुहुन्छ दार्चुलाका गणेशसिंह ठगुन्ना । २ हजार १ सय ३४ मतान्तरले कांग्रेस नेता दिलेन्द्रप्रसाद बडु निर्वाचित हुनुभएको छ । एमालेले यो निर्वाचनमा चुनावी अभियान थालेको र चुच्चे नक्सा समेटिएको भूमि समेत रहेको जिल्लामै एमाले पराजित भएको हो ।

महेश बस्नेत
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीका अति निकट मानिने महेश बस्नेत भक्तपुर(२ बाट पराजित हुनुभएको छ । बस्नेतलाई कांग्रेसका दुर्लभ थापाले ९६३ मतान्तरले हराउनुभएको हो ।

किरण गुरुङ
तनहुँ-१ मा कांग्रेसका शंकर भण्डारी निर्वाचित हुँदा एमालेका किरण गुरुङ पाँच हजार चार सय ७४ मतान्तरले पराजित हुनुभएको छ ।

महालक्ष्मी उपाध्याय डिना
सत्ता गठबन्धन हुँदा पनि कांग्रेस सह(महामन्त्री महालक्ष्मी उपाध्याय डिना फेरि पराजित हुनुभएको छ । मकवानपुर–१ बाट राप्रपाका दिपकबहादुर सिंह विजयी हुँदा डिना २ हजार ३९६ मतान्तरमा पराजित हुनुभयो । २०४८, २०५१, २०५६ र २०७४ पराजित डिनालाई यो पटक पनि अनुकुलता मिल्न सकेन ।

पम्फा भुसाल
नेकपा माओवादी केन्द्रको शीर्ष तहको नेतामध्ये लज्जास्पद हार व्यहोर्ने नेतृ बन्नुभएको छ पम्फा भुसाल । ललितपुर–३ बाट लगातार निर्वाचन जित्दै आएकी भुसाल यो पटक तेस्रो बन्नुभयो । उहाँ २२ हजार ३६७ मतले पछि पर्नुभयो ।

बलबहादुर केसी
सोलुखुम्बुमा पहिलो पटक एमालेले जित हात पार्दा कांग्रेसका शीर्ष नेता बलबहादुर केसीले संसदीय चुनावको तेस्रो हार व्यहोर्नु पर्यो । ६ वटा चुनाव लडेर ४ पटक (२०४८, २०५१, २०५६ र २०७०) मा विजयी भएका केसी तीन पटक मन्त्री बन्नुभएको थियो । आफु प्रधानमन्त्री बन्न मात्रै बाँकी रहेको भन्दै सातौं चुनाव लडेका केसीलाई पहिलो पटक चुनाव जितेको एमालेका मानवीर राईले २ हजार ७७९ मतान्तरले हराउनुभएको हो ।

अर्जुन जोशी
पर्वतमा कांग्रेस नेता अर्जुन जोशी लगातार दोस्रो पटक पराजित हुनुभएको छ । उहाँलाई दुबै पटक एमालेका पदम गिरीले हराउनुभएको हो यो पटक गिरीले जोशीलाई २ हजार २६३ मतान्तरले हराउनुभएको हो ।

विरोध खतिवडा
नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई एमालेका युवा नेता महेश बर्तौलाले पराजित गराउनुभएको छ । मकवानपुर–२ मा बर्तौलाले खतिवडालाई ४ हजार ५२० मतान्तरले पराजित गर्नुभएको हो ।

कमल थापा
कुनै बेला आफ्नै कार्यकर्ता रहेका दीपकबहादुर सिंह मकवानपुर–१ बाट विजयी हुँदा राप्रपा नेपालका अध्यक्ष कमल थापा तेस्रो बन्नुपर्यो । आफ्नो पार्टीको चुनाव चिन्हबाट अन्य क्षेत्रमा अरुलाई उम्मेदवार बनाए पनि थापा जित्ने आशामा एमालेको सूर्य चिन्हबाट उठ्नुभएको थियो । एमाले कार्यकर्ताको चर्को विरोधबीच थापा उम्मेदवार बने पनि तेस्रो भएर पराजित हुनुपर्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्