काठमाडौंको बसन्तपुरमा थाहा पर्यटकीय फोटो प्रदर्शनी
१८ कात्तिक २०७९ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले विश्वभरका पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
विश्वभरका पर्यटकहरुलाई नेपाल भित्र्याउनका लागि ‘पर्यटक भ्रमण दशक’ कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउने उहाँको भनाई थियो ।
थाहा नगरपालिकाले शुक्रबारबाट काठमाडौंको बसन्तपुर डबलीमा आयोजना गरेको ‘थाहा पर्यटकीय फोटो प्रर्दशनी’को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कल्चर, नेचर र यहाँ रहेका वैभवहरुका लागि पूर्वाधार विकास गरी नेपालमा बाह्रै महिना पर्यटकहरु आकर्षित हुने गरी आफूले योजना तयार पारेको दावी समेत गर्नु भयो ।
पर्यटन क्षेत्रको समावेशी विकासका लागि आफूले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार परेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यसको कार्यान्वयनमा जोड दिनेसमेत बताउनुभयो ।
मन्त्री श्रेष्ठले थाहा नगरपालिकाले आयोजना गरेको फोटो प्रदर्शनीले पनि नेपाललाई पर्यटन क्षेत्रको गन्तव्यको रुपमा विकास गराउन सहयोग पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो ।
३ दिनसम्म चल्ने प्रदर्शनीमा थाहा नगरपालिकाको साँस्कृतिक, प्राकृतिक तथा धार्मिक महत्वका सम्पदाहरुको चित्रण गर्ने प्रयास गरिएको थाहा नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया