राजनीति

घोषणापत्र : समाजवादीको रहर, पूर्व–पश्चिम मेघा नहर’(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक १४ गते २१:४८
घोषणापत्र : समाजवादीको रहर, पूर्व–पश्चिम मेघा नहर’(भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०७९ काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले आधुनिक कृषि, युवालाई रोजगारी, पर्यटन प्रवद्र्धनलगायत विभिन्न क्षेत्रमा महत्वाकांक्षी लक्ष्य राखेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज पत्रकार सम्मेलन गरी एकीकृत समाजवादीले घोषणा पत्र सार्वजनिक गरेको हो । प्रतिनिधिसभा निर्वाचनमा १९ उम्मेदवार उठाएको एकीकृत समाजवादीको घोषणापत्रका विषेशता के छन् त ?

आधुनिक कृषि, संरक्षित कृषि बजार, भूमिको वैज्ञानिक व्यवस्थापन, सिँचाइमा लगानी जस्ता विषयलाई प्राथमिकतामा राखिएको घोषणापत्रमा नेपालको पानी सदुपयोगका लागि भन्दै ‘पूर्व–पश्चिम मेघा नहर’ निर्माण गर्ने उल्लेख छ ।

तीन पक्षमा विभाजित घोषणापत्रमा पहिलो खण्डमा पार्टी स्थापनाको पृष्ठभूमी, दोस्रो खण्डमा नीतिगत प्रतबद्धता र तेस्रो खण्डमा कार्यक्रमिक प्रतिबद्धतालाई समेटिएको छ ।

नेकपा एमालेबाट फुटेर डेढ वर्षअघि पार्टी स्वरुप लिएको एकीकृत समाजवादीले आफ्नो घोषणापत्र कार्यान्वयनका लागि प्रतिबद्ध रहेको दाबी गरेको छ ।

के छन् त कार्यक्रमिक प्रतिबद्धताहरु ?
– कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजार व्यवस्थापन
– युवालाई कृषिमा आकर्षित गर्ने, रोजगारको सुनिक्षितता
– वैदेशिक लगानीका लागि वातावरण सिर्जना गर्ने ।
– नेपालको पानी नेपालमै अवधारण सहित ‘पूर्व(पश्चिम मेघा नहर’ बनाइने
– एक पालिका, एक उद्योगग्रामको नारा सहित युवा उद्यमीहरुलाई विना धितो ऋण
– घरघरमा बिजुली जन–जनमा सेयरको अवधारणा, जलविद्युत परियोजनामा जनताको लगानी
– प्रदेश राजधानीमा १ हजार शय्या, नगरपालिकामा १०० शय्या र गाउँपालिकमा २५ शय्याको अस्पताल, स्वास्थ्य सेवा निशुल्क
– फोहरलाई मलमा परिणत गरिने
– एक गाउँ एक सहकारी, एक घर एक रोजगारी
– जातीय छुवाछूतको अन्त्य, दलितका लागि रोजगारीको व्यवस्था
– ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य परीक्षण, उपचार र यातायात निशुल्क
– प्रशासनिक खर्चमा कटौती
– पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्र र
– स्वतन्त्र, असंलग्न र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध कायम

नेकपा एकीकृत समाजवादीले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनअपेक्षामा कुठाराघात भएको र कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति भएपछि आफूहरुले विद्रोह गर्नुपरेको दाबी गरेको छ ।

२०७४ को निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनलाई झण्डै दुई तिहाइ बहुमत प्राप्त भए पनि प्रतिबद्धताअनुसार गर्नुको साटो भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएको आरोप एकीकृत समाजवादीले लगाएको छ ।

नयाँ पार्टी गठन भन्दा पनि एमालेको पुनर्गठन गरेको दाबी गरिएको घोषणापत्रमा नेकपा एमालेका तत्कालीन नेता मनमोहन अधिकारी सरकारले गरेका कामको जस लिने प्रयास गरेको छ । नेपालको ग्रामिण क्षेत्रको विकासमा मनमोहन नेतृत्वको सरकारले अघि सारेको ‘आफ्नो गाउँ, आफैं बनाऔं’ कार्यक्रमले परिवर्तन ल्याएको भन्दै घोषणापत्रमा मनमोहन सरकारको प्रसंशा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्