राजनीति

यस्तो छ कर्णाली प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीको अनुहार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक ५ गते १७:४६
यस्तो छ कर्णाली प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीको अनुहार (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०७९ काठमाडौं । क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठुलो र संसद संख्याका आधारमा सबैभन्दा सानो कर्णाली प्रदेशमा पनि भावि मुख्यमन्त्रीबारे बहस शुरु भइसकेको छ ।

अघिल्लो पटक सबैभन्दा ठुलो दल नेकपा एमालेले पटक पटक मुख्यमन्त्रीका लागि गरेको प्रयास विफल भएको थियो । संसदमा फ्लोर क्रस गर्ने गराउनेसम्मको अभ्यास भएको यो प्रदेशमा यस पटक पनि मुख्यमन्त्रीका लागि प्रमुख तीन दल कांग्रेस(एमाले र माओवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ। हेरौं कर्णालीको मुख्यमन्त्रीका आकांक्षीको अनुहार ।

को बन्ला कर्णालीको मुख्यमन्त्री ?
अन्य प्रदेशमा जस्तै यहाँ पनि भावि मुख्यमन्त्रीबारे बहस शुरु भइसकेको छ । प्रमुख तीन दल कांग्रेस(एमाले र माओवादीबाटै मुख्यमन्त्री बन्ने अवस्था देखिए पनि कस्को बहुमत आउँछ भन्ने अवस्था भने अनुमान गर्न गाह्रो छ । सबैभन्दा ठुलो भुगोल तर सबैभन्दा सानो अर्थात ४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ सिट आवश्यक पर्छ। मुख्यमन्त्रीका दाबेदारबारे चर्चा गर्नुअघि अघिल्लो चुनावको नतिजा हेरौं ।

गत निर्वाचनबाट कर्णालीमा एमाले पहिलो दल बनेको थियो । ६ समानुपातिक सांसदसहित २० सिट जितेको एमालेले मुख्यमन्त्रीमा माओवादीका महेन्द्रबहादुर शाहीलाई साथ दिएको थियो । ५ समानुपातिक सिट जितेको कांग्रेसले प्रत्यक्षमा एक सिट मात्रै जित्न सक्यो । ४ समानुपातिक सांसद पाएको माओवादीले प्रत्यक्षसहित १३ सिट जितेको थियो । त्यहाँ समानुपातिकबाट राप्रपाले एक सिट जितेको थियो ।

यस पटकको अवस्था के छ ?
चुनावी प्रतिस्प्रर्धामा रहेका उम्मेदवारहरुले कर्णाली प्रदेशको भाबि मुख्यमन्त्रीका रुपमा आफुलाई अगाडि सार्न थालिसकेका छन् । कतिपयले त मुख्यमन्त्री बन्ने लोभमै प्रदेश सभा रोजेको स्पष्ट देखिन्छ । गत चुनावमा एमाले र माओवादीबीच तालमेल हुँदा प्राप्त सफलता यो पटक सत्ता गठबन्धनका कारण उलट पुलट हुनसक्नेमा एमालेका नेता सचेत देखिएका छन् । सत्ता गठबन्धनमा कांग्रेस र माओवादीबीच केही क्षेत्रमा देखिएको बेमेल चुनौतीपूर्ण हुनसक्ने देखिन्छ ।

मुख्यमन्त्रीमा कुन दलबाट को आकांक्षी ?
सत्तारुढ नेपाली कांग्रेसबाट वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीसहित तीन जना मुख्य आकांक्षी देखिँदा एमाले र माओवादीबाट दुई दुई जनाले आकांक्षा देखाएका छन् ।

कांग्रेसबाट को ?
जीवनबहादुर शाही

संघीय सरकारको पर्यटन मन्त्रीसमेत भइसकेका शाही हाल कर्णाली प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ । अघिल्लो निर्वाचनमा कर्णालीमा प्रत्यक्ष तर्फ कांग्रेसलाई शून्य हुनबाट जोगाएका शाही नेकपा विभाजनपछि भाग्यले मुख्यमन्त्रीको कुर्चीमा पुर्याएको बहस हुने गरेको छ । हुम्लाको प्रदेश २ मा उम्मेदवार रहेका शाही मुख्यमन्त्रीमा दोहोरिन सक्ने पात्र हुनुहुन्छ ।

ललितजंग शाही
जुम्लाको प्रदेशसभा २ मा उम्मेदवार रहेका ललितजंग शाही पनि मुख्यमन्त्रीका दाबेदारका रुपमा देखिनुभएको छ । कर्णाली प्रदेश सभापतिसमेत रहेका शाही कांग्रेस सभापति शेरबहादुर देउवाका निकट भएकाले मुख्यमन्त्रीमा उहाँलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।

राजीवविक्रम शाह
संविधानसभा सदस्य भइसकेका राजीवविक्रम शाहलाई मुख्यमन्त्रीको आश्वासनसहित प्रदेशमा उठाइएको चर्चा छ । सत्ता गठबन्धनमा जाजरकोट माओवादीले पाएसँगै असन्तुष्ट शाहलाई फकाउन माओवादीका शीर्ष नेतासमेत सक्रिय भए । सामाजिक काममासमेत सक्रिय शाहलाई मुख्यमन्त्रीको बलियो दाबेदारका रुपमा हेरिएको छ ।
उम्मेदवारहरुले आकांक्षा देखाए पनि पार्टीमै भने मुख्यमन्त्रीबारे बहस नभएको नेताहरुको दाबी छ ।

माओवादीबाट को ?
नेकपा माओवादी केन्द्रले आफ्नो आधार क्षेत्र भन्ने गरेको कर्णालीमा संगठन भने कमजोर देखिन्छ । अघिल्लो चुनावमा एमालेसँगको तालमेलले दोस्रो दल बनेको माओवादीबाट यो पटक दुई जना नेताले मुख्यमन्त्रीको आकांक्षा देखाएका छन् ।

विन्दमान विष्ट स् माओवादी नेता विन्दमान विष्ट पनि मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ । कर्णाली प्रदेशको अर्थ मन्त्री भइसकेका विष्टलाई भावि मुख्यमन्त्रीका रुपमा चर्चा गरिएको छ ।

राजकुमार शर्मा स् नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीका दाबेदारका रुपमा रुकुम पश्चिमको प्रदेशसभा २ का उम्मेदवार बनेका राजकुमार शर्मालाई हेरिएको छ । शर्माको क्षेत्रमा भावि मुख्यमन्त्रीका रुपमा चर्चा गरिएको छ । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही संघीय उम्मेदवार भएसँगै माओवादीमा नयाँ आकांक्षी देखिएका हुन् ।

मुख्यमन्त्री पाएको अवस्थामा आफूहरु निर्विवाद नाम तय गर्ने माओवादीका नेता बताउँछन् ।

एमालेमा यामलाल र शाहको आकांक्षा
अघिल्लो कार्यकालमा पटक पटक सत्ता नेतृत्वको सम्मुखमा पुगेर असफल भएको एमाले यो पटक एकल बहुमतसहित सरकारको नेतृत्वको योजनामा छ ।

यामलाल कँडेल
एमालेमा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कँडेललाई प्रमुख दाबेदारका रुपमा हेरिएको छ । अघिल्लो संसदमै मुख्यमन्त्रीको योजना बनाएका कँडेल आफ्नै पार्टीका केही सांसदले फ्लोर क्रस मार्फत असहयोग गरेसँगै रोकिनु भएको थियो । यो पटक मुख्यमन्त्री बनेर कर्णाली सरकार हाँक्ने योजनासहित कँडेल सुर्खेत २ को प्रदेशसभा एकमा उम्मेदवार हुनुहुन्छ ।

विनोद शाह
एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद शाह पनि मुख्यमन्त्रीको आकांक्षी हुनुहुन्छ । शाह दैलेख २ को प्रदेशसभा २ मा उम्मेदवार हुनुहुन्छ । शाह पार्टी अध्यक्ष केपी ओली निकट भए पनि कँडेलका कारण मुख्यमन्त्रीको यात्रामा अवरोध आउनसक्ने देखिन्छ । एमालेका नेताहरुले मुख्यमन्त्रीबारे छलफल थाल्नु हतार हुने भए पनि तयारी भने थालिएको बताएका छन् ।

कर्णाली प्रदेशसभामा आगामी सरकार गठनको गणितबारे बहस चले पनि मंसिर चारको परिणामपछि गठबन्धनमा फेरबदल आउनसक्ने समेत आंकलन पनि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्