राजनीति

ओलीले देउवालाई ‘लाइभ डिबेट’मा आमन्त्रण गर्नुलाई कसरी लिने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक २ गते १८:२०
ओलीले देउवालाई ‘लाइभ डिबेट’मा आमन्त्रण गर्नुलाई कसरी लिने ? (भिडियो रिपोर्टसहित)

२ कात्तिक २०७९ काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले मंगलबार सामाजिक सञ्जालमार्फत् कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’का लागि आमन्त्रण गरे ।

ओलीले देउवालाई चुनौति दिनुको थप उद्देश्य त खुलिसकेको छैन । तर, एमालेले भावी प्रधानमन्त्री घोषणा गरेका ओली पनि देउवा नै गठबन्धनको तर्फबाट प्रधानमन्त्री उम्मेदवार हुन्छन् भन्ने निश्कर्षमा पुगेको चाहिँ प्रष्ट हुन्छ ।

विपक्षी दलले संकेत गर्दासम्म पनि सत्तारुढ गठबन्धनले भने नयाँ प्रधानमन्त्रीको उम्मेदवार को हो भन्नेमा छलफलसमेत गरेको छैन ।

मंगलबार संयुक्त प्रतिवद्धतासहितको अपिलमार्फत् सत्ता गठबन्धनका मुख्य तीन दलले चुनावपछि पनि गठबन्धन सरकार नै बनाउने दाबी त गरे । तर, प्रधानमन्त्रीको उम्मेदवार को हो भन्ने चाहिँ खुलाउन सकेनन् ।

आइतबार चुनावी प्रचार कार्यक्रममा सत्ता गठबन्धनका शीर्ष नेता एकै मञ्चमा थिए । जहाँ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ‘अहिले र भविष्यका प्रधानमन्त्री यही छौं’ भनेर आफू पनि प्रधानमन्त्रीको दौडमा रहेको संकेत गरे ।

केहीअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि ‘समृद्धिको नेतृत्व गर्ने’ चाहना व्यक्त गरेका थिए । जसले दाहाल पनि प्रधानमन्त्रीको दौडमै छन् भन्ने स्पष्ट हुन्छ । अहिले र चुनावपछि पनि गठबन्धनको ठूलो दल बन्ने कांग्रेसले नयाँ सरकारको दाबी छोड्ने कल्पना गर्नैै सकिन्न । कांग्रेसमा देउवालाई चुनौति दिने त आउलान् । तर, बाटो नै छेक्न चाहिँ मुस्किल छ ।

सत्ता गठबन्धनबाट देउवा, दाहाल र नेपाल भावी प्रधानमन्त्रीका दावेदार हुन् । तर, पार्टी नै एकीकरण गर्ने तयारीमा रहेका नेपालले अन्तिममा दाहाललाई समर्थन गर्छन् । र, देउवा र दाहाल मात्रै हुन्छन् । गठबन्धनले चाहे अहिले नै ओलीको प्रतिस्पर्धी निरक्र्यौल गर्न सक्छ । तर, उ त्यसमा प्रवेश गर्न डराइरहेको छ । किन ?

पाँच वटा दलको समीकरणका कारण चुनावी नतिजा गठबन्धनकै पक्षमा आउने संभावना हुँदा–हुँदै पनि उसले भावी प्रधानमन्त्रीको उम्मेदवार तोक्न नसक्नुका केही कारण छन् ।

कारण– १ : अहिले नै प्रधानमन्त्रीको उम्मेदवार तोक्दा गठबन्धनमा अविश्वास बढ्न सक्ने र त्यसले तल्लो तहको भोट ट्रान्फर नगराउने जोखिम ।
कारण– २ : प्रधानमन्त्रीका उम्मेदवारलाई नै गठबन्धनभित्रकै दल वा सोही दलको असन्तुष्ट पक्षसहित वाह्य शक्तिले चुनावी घेराबन्दी गर्ने संभावना ।
कारण– ३ : आकांक्षी धेरै भएको कांग्रेसमा आन्तरिक शक्ति संघर्ष थप चर्किन सक्ने । र, देशैभरको चुनावी परिणाम प्रभावित हुने खतरा ।
कारण– ४ : देउवा र दाहालको चालबाजी । तेस्रो शक्ति बनेर पहिलो र दोस्रोसँग बार्गेनिङ गर्ने दाहालको उद्देश्य । संगै राख्नुपर्ने गणितीय बाध्यता हटे दाहाललाई अलग्याउने देउवाको चाहना ।

केपी ओलीको असंवैधानिक कदमविरुद्ध एक ठाउँमा उभिएका पाँच दल प्रारम्भिक उद्देश्य पूरा भएपछि पनि गठबन्धनमै रहनुको मुख्य ध्येय सत्ता स्वार्थ नै हो । तर, प्रधानमन्त्रीको साझा उम्मेदवारसमेत तोक्न नसक्ने गठबन्धन आवद्ध दलले नयाँ सरकार यही गठबन्धन कायम राखेरै बनाउने संभावना चाहिँ कमै देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *