बाहिरियो मनसुन, यस्तो रहनेछ आजको मौसम
३० असोज २०७९ काठमाडौं । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि सामान्य वर्षा हुने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले भदौ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजबाट पूर्ण रूपमा बाहिरिएको छ । योसँगै अब मनसुनी वर्षा नहुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
सरदरमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुन यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बाहिरिएको हो । मनसुन बाहिरिएपछि नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।
जसका कारण देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । आज राति भने पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया