राजनीति

उमेदवारको नाम टुंगिएसँगै दलभित्र असन्तुष्टि र विद्रोह सुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज २२ गते २०:४५
उमेदवारको नाम टुंगिएसँगै दलभित्र असन्तुष्टि र विद्रोह सुरु (भिडियो रिपोर्टसहित)

२२ असोज २०७९ काठमाडौं । मंसिर ४ को निर्वाचनका लागि उमेदवारको नाम टुंगिएसँगै राजनीतिक दलभित्रको असन्तुष्टि पनि पोखिन थालेको छ । निर्वाचनमा पार्टीले उठाएका उमेदवारप्रति असन्तुष्टि जनाउँदै केही स्थानमा नेतारकार्यकर्ताले विद्रोह गरेका छन् ।

सत्तागठबन्धनभित्रका दलहरुमा टिकट वितरणको विषयलाई लिएर असन्तुष्टि पोखिइरहँदा नेकपा एमालेभित्र पनि टिकटकै विषयले बबण्डर मच्चिएको छ । केही नेताले पाएको टिकटमा चुनाव नलड्ने जवाफ फर्काएका छन् भने केहीले पार्टी नै परित्याग गरेका छन् । एमाले अध्यक्ष
केपी शर्मा ओलीले आफुसँग विगतमा फरक मत राख्नेमाथि प्रतिशोध साँधेर टिकटबाट बञ्चित गरेको आरोप लागेको छ । अछाम १ बाट एकल सिफारिस भएका भीम रावललाई एमालेले यसपटक टिकट नदिने निर्णय गर्‍यो ।

पार्टीको सो निर्णयको विरोधमा अछामका ४० स्थानीय नेता कार्यकर्ताले राजीनामा दिएका छन् । ओलीको आलोचकका रुपमा चिनिएका नेता घनश्याम भुषालले पनि रुपन्देही १ मा टिकट नपाएपछि एमाले परित्याग नै गर्नुभएको छ । यसअघि काठमाडौं १० बाट चुनाव लडेका सुरेन्द्र मानन्धर पनि पन्छाइएका छन् । उहाँको ठाउँमा यसपटक माओवादीबाट एमाले बनेका रामबहादुर थापा बादललाई एमालेले उमेदवार बनाएको छ ।

उहाँहरु सबै १० भाई भनेर पार्टीमा चिनिनुहुन्छ । यता, काडमाडौं ८ मा अष्टलक्ष्मी शाक्यलाई चुनाव लडाउन खोजेपनि शाक्यले पार्टीको सो प्रस्ताव अस्विकार गरिसक्नुभएको छ । उसो त एमाले पूर्व सांसद गंगा चौधरीले स्वतन्त्र उमेदवारीको घोषणा गरिसक्नुभएको छ । यता, उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै नेकपा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिनुभएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिस र छनोट गर्दा सिद्धान्त, विधि विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल भएको भन्दै उहाँले राजीनामा दिनुभएको हो ।

यस्तै, जनता समाजवादी पार्टी ९जसपा० लाई सुनसरी–१ दिइएपछि नेकपा एमालेका असन्तुष्ट नेताहरुले विद्रोहको तयारी गरेका छन् । असन्तुष्ट नेताहरुले शनिबार भेला गरेर पार्टी नेतृत्वसँग निर्णय सच्याउन आग्रह गरेका छन् ।सुनसरी–१ बाट निवर्तमान सांसद जयकुमार राईको नाम एकल रुपमा सिफारिस भएको थियो । तर, जसपाले उक्त क्षेत्र पाएपछि धरानका पूर्व मेयर मनोज मेयाङबोले विद्रोह गरेर बाघी उठाउने चेतावनी दिनुभएको छ ।

यता नेपाली कांग्रेसभित्र पनि टिकटको विषयले बबण्डर छ । दार्चुलामा दिलेन्द्र बडुले टिकट पाएपछि कांग्रेसकै गौरीशंकर गिरिले पार्टी परित्याग गर्नुभएको छ । नवलपुर २ माओवादीको भागमा परेपछि स्थानीय नेताहरुले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

सभापति देउवाकै जिल्लामा पूर्व जिल्ला सभापति कर्ण मल्लले देउवालाई हाँक दिइरहँदा यता तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध कांग्रेस केन्द्रिय सदस्य गोविन्द भट्टराईले स्वतन्त्र उमेदवारी दिने घोषणा गरिसक्नुभएको छ । कांग्रेसभित्र टिकट न्यायोचित नभए विद्रोहको धम्की दिइरहेको संस्थापनइतर समुह पनि धेरै स्थानमा असन्तुष्ट देखिन्छ ।

टिकटको अन्तिम टुंगो लागेपछि कांग्रेसभित्र अन्य केही स्थानमा पनि विद्रोहको तयारी छ । सत्तागठबन्धनमा जोडिएको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा पनि असन्तुष्टि देखिएको छ । यो पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले सिरहा २ बाट उमेदवारीको घोषणा गर्नुभएको छ । गठबन्धनमा अन्तरघातको डरले माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो क्षेत्र नै छाड्नुभएको छ ।

चितवन छाड्नुभएका दाहालले गोरखा २ रोज्नुभएको छ । सभामुख अग्नि सापकोटाले पनि अन्तरघातकै त्रासले चुनावी मैदान छाड्नुभएको छ । कांग्रेसले दावी गरिरहेको सिन्धुपाल्चोक १ माओवादीको भागमा परेपनि उहाँले निर्वाचन नलड्ने घोषणा गरिसक्नुभएको छ ।

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले भाग नपाएपछि बागी उम्मेदवारी दिने तयारी गरेको छ । एक प्रतिनिधिसभा रहेको डडेलधुरामा नेकपा एसले प्रदेशसभा २ माग गरेको थियो ।

अघिल्लो पटक झिनो मतान्तरले कांग्रेस उम्मेदवार कर्ण मल्लसँग पराजित तत्कालीन एमालेले जिल्ला अध्यक्ष डा। तारादत्त जोशीको लागि प्रदेशसभा दाबी गरिएको थियो । अहिले उक्त क्षेत्र कांग्रेसको भागमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्